बीमा समितिको अध्यक्षमा डा. रविन्द्र घिमिरे नियुक्त



काठमाडौं । बीमा समितिको अध्यक्षमा डा. रविन्द्र घिमिरे नियुक्त भएका छन् ।

बिहीबार बसेको मन्त्रिपरिषदको बैठकले पोखरा विश्वविद्यालयका प्राध्यापकसमेत रहेका डा. घिमिरेलाई नियुक्त गरेको मूख्यसचिव डा. सोमलाल सुवेदीले जानकारी दिए ।

‘बिहीबार बसेको मन्त्रिपरिषदको बैठकले मिघिरेलाई बीमा समितिको अध्यक्षमा नियुक्ति गर्ने निर्णय गरेको छ । तर, अझैपनि माइन्यूटमा हस्ताक्षर भने भइसकेको छैन, ‘ मुख्यसचिव सुवेदीले क्लिकमाण्डूसँग भने ।

अर्थमन्त्रीसमेत रहेका उपप्रधानमन्त्री कृष्णबहादुर महराले डा. घिमिरेसहित ३ जनाको नाम बीमा समितिको अध्यक्षका लागि प्रस्ताब गरेका थिए ।

पोखरा घर भएका घिमिरे माओवादी जनयुद्ध कालमा ३ वर्ष जेल जिबनसमेत भोगेका थिए । घिमिरेले बनारसको हिन्दु विश्वविद्यालयबाट बीमा तथा जोखिम व्यवस्थापनमा विद्यावारिधी गरेका छन् । उनले गोर्खाको अमरज्योति माविमा विद्यालयतहसम्म अध्ययन गरेका थिए ।

यही पुस ७ गते ४ वर्षे कार्यकाल पुरा गरी डा. फत्तबहादुर केसी बाहिरिएपछि बीमा समितिमा नयाँ अध्यक्ष नियुक्ति गरेको हो ।

माफी माग्छौं

यसअघि क्लिकमाण्डूले डा. रविन्द्र घिमिरेलाई बीमा समितिको अध्यक्ष नियुक्ति गरेको भन्ने समाचार प्रकाशित गरेको थियो । मूख्य सचिव डा. सोमलाल सुवेदीले मन्त्रिपरिषदले घिमिरेलाई समितिको अध्यक्ष बनाउने निर्णय गरेको तर माइन्यूटमा हस्ताक्षर हुन बाँकी भएको बताएपछि त्यसैका आधारमा हामीले समाचार बनाएका थियौं ।

माइन्यूटमा हस्ताक्षर नभइसकेको अवस्थामा र कसलाई नियुक्ति गर्ने भन्ने विषयमा प्रधानमन्त्री र अर्थमन्त्रीबीच विवाद भएका कारण यस्तो अवस्था आएको हो । अर्थमन्त्री घिमिरेलाई नै अध्यक्ष बनाउन चाहन्थे भने प्रधानमन्त्री प्रचण्ड सकेसम्म तेस्रो व्यक्ति नभएपनि घिमिरेको विकल्पमा चापागाईँलाई अध्यक्ष बनाउन चाहन्थे ।

प्रधानमन्त्रीको दबाबमा नै घिमिरेको नाम लेखिएको ठाउँमा सच्याएर चापागाईँको नाम लेखी मुख्यसचिव डा. सुवेदीलाई माइन्यूटमा गर्न हस्ताक्षर लगाइएको हो । प्रधानमन्त्रीय पद्दतिमा मन्त्रिपरिषदबाट प्रधानमन्त्रीले आफ्नो चाहाना अनुसारका निर्णय गराउन सक्छन् ।

डा. घिमिरेको नाम माइन्यूटमा लेखिसकेको भन्ने मुख्यसचिव डा. सुवेदीको ‘कोट’ नै राखेर समाचार सम्प्रेषण गरेका थियौं । स्रोतलाई विश्वास गर्दा कहिलेकाहीँ पत्रकारितामा गलत सूचनाहरु पनि सम्प्रेषण हुन्छन् । सो समाचार गलत पुष्टि भएकाले क्षमा माग्दै आगामी दिनमा यस्ता गल्ती नदोहोर्याउने प्रतिवद्धता गर्दछौं । हामीले लेखेको समाचारले डा. रविन्द्र घिमिरेमाथि पर्न गएको असरप्रति पनि हामीले माफी माग्नै पर्छ ।


पुष्प दुलाल