आयल निगमका प्रमुख भन्छन्- संसदीय समितिको निर्देशन अब्यवहारिक, मूल्य बढाउन बोर्डलाई सोधिरहनु पर्दैन



काठमाडौं । नेपाल आयाल निगमका कार्यकारी निर्देशक गोपाल खड्काले पेट्रोलियम पदार्थको मूल्य समायोजन गर्न संचालक समिति (बोर्ड) लाई सोधिरहनु नपर्ने बताएका छन् ।

आपूर्ति मन्त्रालयका प्रवक्ता तथा सहसचिब सूर्यप्रसाद श्रेष्ठलगायत अन्य सञ्चालक समितिका सदस्हरुले निगम ब्यवस्थापनले एकलौटी रुपमा पेट्रोलियम पदार्थको मूल्य बढाएको भन्दै सार्वजानिकरुपमै गुनासो गरिरहेका बेला कार्यकारी निर्देशक खड्काले यस्तो प्रतिक्रिया दिए ।

‘मूल्य समायोजन गर्ने अधिकार ब्यवस्थापनलाई नै छ, यो कुरा बोर्डलाई सोधिरहनु पर्ने विषय होइन,’ खड्काले क्लिकमाण्डूसँग भने ।

त्यसैगरी, पैसामा मूल्य तय गर्नुको कारण पनि नियमले अबलम्बन गरेको फरमुला रहेको उनले जिकिर गरे । निगमले अहिले पेट्रोलको मूल्य प्रतिलिटर १०१ रुपैयाँ ५० पैसा तथा डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ७७ रुपैयाँ ५० पैसा तोकेको छ ।

‘निगमले मूल्य तय गर्ने हो, कोसँग कति दरको मुद्रा छ छैन भनेर हेर्ने हामीले होइन, एक लिटर पेट्रोल किन्दा १०२ रुपैयाँ दिनुस्, पम्पवालाले ५० पैसा फिर्ता गर्नुपर्छ, गर्छन्, त्यो कसरी फिर्ता गर्ने भन्ने कुरा विक्रेताको हो, जसरी भएपनि उनीहरुले फिर्ता दिनुपर्छ,’ खड्काले भने ।

निगमले तोकेको दर अनुसार १ लिटर पेट्रोल वा डिजेल सोही मूल्यमा खरिद गर्नै सकिँदैन । अहिले ५० पैसा दरेको मुद्रा चलनचल्तीमा नभएकोले यस्तो समस्या आएको हो । राष्ट्र बैंकले १ रुपैयाँभन्दा कम दरका मुद्रा निष्काशन गर्न छाडेको धेरै वर्ष भइसकेको छ ।

तर निगमका कार्यकारी निर्देशक खड्का अहिलेको फरमुलाअनुसार मूल्य समायोजन गरिएको र कुन दरका मुद्रा छन् छैनन् भन्ने विषय आफ्नो नभएको बताउँछन् ।

‘निगयमले कार्यान्वयन गरिरहेको फरमुला अनुसार त्यति नै मूल्य कायम भएको छ, यसलाई मैले घटाएर १०१ रुपैयाँ वा १०२ रुपैयाँ बनाउन सक्दिन,’ खड्काले भने ।

निगमले तय गरेको दर न्यूनतम इकाई खरिद विक्री हुन सक्ने बनाउन संसदको उद्योग वाणिज्य तथा उपभोक्ता हित सम्बन्ध समितिले निगम र आपूर्ति मन्त्रालयलाई यसअघि नै निर्देशन दिइसकेको छ ।

संसदीय समितिले दिएको सो निर्देशन कार्यान्वयन गर्न नसकिने प्रकारको भएको खड्को दाबी छ ।

‘संसदीय समितिले निर्देशन दिएकै हो, तर मैले एक लिटर पेट्रोलको मूल्य ५० पैसा बढाएर १०२ रुपैयाँ वा ५० पैसा घटाएर १०१ रुपैयाँ बनाउन सक्दिन, यसमा ब्यवहारिक कठिनाइ देखियो, त्यसैले यस्तो भएको हो,’ खड्काले भने ।

काठमाडौंमा एक लिटर पेट्रोल खरिद गर्दा उपभोक्ताले कति पैसा दिने भन्ने क्लिकमाण्डूको प्रश्नमा उनले १०२ रुपैयाँ दिएर ५० पैसा फिर्ता माग्ने बताए ।

५० पैसा दरको मुद्रा नभएकोेले आफूहरुलाई विक्री वितरण गर्न अप्ठेरो भएको विक्रेताले गुनासो गरेका छन् भन्ने अर्काे प्रश्नमा उनले यो विषय आफ्नो नभएको र निगमले पेट्रोलियम पदार्थमात्रै दिने गरेको तर मुद्रा दिने नगरेको जवाफ दिए ।

‘निगमले मूल्य तय गर्ने हो, कोसँग कति दरको मुद्रा छ छैन भनेर हेर्ने हामीले होइन, एक लिटर पेट्रोल किन्दा १०२ रुपैयाँ दिनुस्, पम्पवालाले ५० पैसा फिर्ता गर्नुपर्छ, गर्छन्, त्यो कसरी फिर्ता गर्ने भन्ने कुरा विक्रेताको हो, जसरी भएपनि उनीहरुले फिर्ता दिनुपर्छ,’ खड्काले भने ।

सम्बन्धित समाचार

उपभोक्ता ठगेर बिक्रेता पोस्नेगरी तय गरियो पेट्रोलियमको भाउ 

आपूर्ति मन्त्रालय भन्छः गोपाल खड्काले जबरजस्ती बढाए 


क्लिकमान्डु