सिनर्जी पावरको १९ लाख ३२ हजार आइपिओ ८ पुसदेखि




काठमाडौं । सिनर्जी पावर डेभलपमेन्ट कम्पनीको १९ लाख ३२ हजार कित्ता साधारण सेयर (आइपिओ) पुस ८ गतेदेखि भर्न पाइने भएको छ । दोलखाको सिप्रिङ खोलाबाट १० मेगावाट जलविद्युत उत्पादन गर्न लागेको सो कम्पनीको आइपिओ बढीमा २१ हजार कित्ता भर्न पाइने छ ।

कम्पनीले बिहिवार सार्वजनिक गरेको आव्हानपत्र अनुसार जम्मा २१ लाख कित्ता आइपिओ जारी गर्न लागिएको छ । तर त्यसमध्ये ३ प्रतिशत अर्थात ६३ हजार कित्ता कम्पनीका कर्मचारीको लागि सुरक्षित गरिएको छ भने ५ प्रतिशत अर्थात १ लाख ५ हजार कित्ता सेयर सामुहिक लगानी कोषहरुको लागि बाँडफाँड गरिएको छ । अब बाँकी रहेको १९ लाख ३२ हजार कित्ता सेयर कम्पनीले सर्वसाधारणलाई विक्री गर्न लागेको हो ।

कम्पनीमा ६० प्रतिशत सेयर प्रमोटरको छ भने १० प्रतिशत सेयर आयोजना प्रभावित स्थानीय (दोलखाको गौरिशंकर, खारे, लामाबगर, वराङ, बुलङ्ग, लादुक, चंखु, सुरी, मार्बु र लामिडाडा गाविसका बासिन्दा) लाई विक्री वितरण गरिएको छ । बाँकी रहेको ३० प्रतिशत सेयर अब विक्री वितरण गर्न लागिएको हो ।

कम्पनीको विक्री प्रबन्धक सानिमा बैंक रहेको छ । सो कम्पनीको आइपिओ भर्नको लागि चेकबाट मात्रै भुक्तानी गर्ने हो भने सिनर्जी पावर डेभलपमेन्टको कार्यालय नक्सालबाट पनि भर्न सकिने छ ।

यस्तै सानिमा क्यापिटलको खाता रहेको सानिमा बैंकको केन्द्रीय कार्यालयमा नगद जम्मा पारेको भौचर लिएर गएमा सानिमा क्यापिटल नक्सालबाट पनि आइपिओ भर्न सकिने छ । नगद, चेक जस्तो गरी भएपनि सेयर भर्ने तयारीमा हुनुहुन्छ भने देशभर रहेका सानिमा बैंकका ३९ शाखाबाट सिनर्जीको आइपिओ भर्न पाइने छ ।

कम्पनीले प्रकाशित गरेको आव्हानपत्र अनुसार जलविद्युत उत्पादन लागत प्रतिमेगावाट १४ करोड ३३ लाख ४९ हजार रुपैयाँ छ । १० मेगावाट विजुली उत्पादन गर्नको लागि १ अर्ब ४३ करोड ३४ लाख रुपैयाँ लागत पर्ने कम्पनीले जानकारी दिएको छ ।

कम्पनीले नेपाल विद्युत प्राधिकरणसँग २०६५ साल माघ २० गते विद्युत खरिद सम्झौता गरिसकेको छ । कम्पनीको लागत र प्राधिकरणसँग भएको विद्युत खरिद सम्झौता अनुसार लगानी फिर्ता ११ बर्ष ९ महिना लाग्ने कम्पनीले जानकारी दिएको छ ।

कम्पनीले क्रेडिट रेटिङको अवस्था भने त्यति सन्तोषजक देखिएको छैन । कम्पनीले प्रकाशित गरेको आव्हानपत्रमा इक्रा नेपालले कम्पनीलाई ४ ग्रेडको रेटिङ दिएको छ । सवैभन्दा राम्रो कम्पनीको रेटिङ १ र कमजोर कम्पनीको रेटिङ ५ हुने गरेको छ ।


क्लिकमान्डु