राजेन्द्रराज पाण्डे: जसले गाई फार्ममा ६ करोड लगानी गरे, दूध बेचेरै मासिक १८ लाख कमाउँछन्



पोखरा । सम्भावनाको खोजी गर्दै दृढइच्छा शक्तिका साथ निरन्तर लाग्ने हो भने गाईपालन व्यवसायसँगै फर्म अवलोकन पनि आम्दानीको राम्रो स्रोत बन्न सक्छ भन्ने नमुना गोरखाका कृषक राजेन्द्रराज पाण्डे बनेका छन् ।

पालुङटार नगरपालिका-३ च्याङ्लीमा रहेको कामधेनु गाईपालन केन्द्रबाट दैनिक ३ हजार ५०० लिटर दूध बिक्री गर्दै आएका उनले १ वर्षको अवधिमा केन्द्रको अवलोकन गर्न आएका ४ सयवटा समूहबाट टिकट काटेबापत चार लाख  रुपैयाँ अतिरिक्त आम्दानी गरेका छन्।

समूहगत रुपमा अवलोकन गर्न आउनेबाट एक हजार रुपैयाँ शुल्क लिने लिने गरेका छन् । ‘अवलोकन गर्न कृषि सहकारीबाट बढी मात्रामा आउने गरेका छन्,’ पाण्डेले भने । गाईपालन केन्द्रमा अघिल्लो वर्ष अवलोकन गर्न २ हजार ५०० जना आएका थिए ।

दूध बिक्रीबाट भन्दा अवलोकन गर्नआएकाहरुबाट प्राप्त आम्दानीबाट बढी सन्तुष्टि मिलेको उनको भनाइ छ । विसं २०५२ मा ७ वटा उन्नतजातका गाईबाट व्यवसाय सुरु गरेका पाण्डेको गाईकेन्द्रमा हाल २८० वटा गाई रहेका छन् । उनको गोठमा रहेका एक सय २५ गाई दुधालु रहेका छन् ।

‘दैनिक ३ हजार ५०० लिटर दूध उत्पादन हुन्छ, मासिक करिब रु १८ लाख आम्दानी हुन्छ,’ पाण्डे भन्छन् ।

केन्द्रमा हाल २० जना स्थायी तथा १० जना ज्यालादारीका कर्मचारी रहेका छन् । उनले चिस्यान केन्द्र समेत स्थापना गरेका छन् । हालसम्म उनले रु ६ करोड लगानी गरिसकेका छन् । उनले ४०० रोपनी क्षेत्रफलमा उन्नत जातको घाँस उत्पादन गरिरहेका छन्।


पुष्प दुलाल