मुम्बइको क्रेडिट एनेलिसिस एण्ड रिसर्चलाई नेपालमा क्रेडिट रेटिङ गर्न अनुमति, चुक्तापूँजी ५ करोड



काठमाडौं । धितोपत्र बोर्डले नेपालमा क्रेडिट रेटिङ्ग संस्था स्थापना गर्नको लागि हालै क्रेडिट एनेलिसिस एण्ड रिसर्च लिमिटेड, मुम्वई, इण्डियालाई सहमतिपत्र प्रदान गरेको छ ।

क्रेडिट रेटिङ्ग नियमावली, २०६८ वमोजिम क्रेडिट रेटिङ्ग व्यवसाय गर्न चाहने कम्पनीको चुक्ता पूँजी कम्तिमा दुई करोड रुपैयाँ हुनुपर्ने व्यवस्था रहेकोमा उक्त कम्पनीको चुक्तापूँजी ५ करोड हुने प्रस्ताव गरिएको छ । सो मध्ये ५१ प्रतिशत सेयर क्रेडिट एनेलिसिस एण्ड रिसर्च लिमिटेड, मुम्वई, इण्डियाको रहने छ ।

रेटिङ कम्पनीको लागि अहिले चुक्ता पुँजी २ करोड रुपैयाँ मात्रै हुने भए पनि कम्पनीले ५ करोड रुपैयाँ चुक्ता पूँजी बनाएको छ । बोर्डले चुक्ता पूँजी ५ करोड बनाएर ल्याए मात्रै स्वीकृति दिने जानकारी गराएपछि सो अनुसारको चुक्ता पूजी कायम गरिएकोले स्वीकृति प्रदान गरिएकाे बोर्डका अध्यक्ष डा. रेवत बहादुर कार्कीले जानकारी दिए ।

बोर्डले दिएको जानकारी अनुसार अन्य सेयर नेपाली व्यवसायीहरु एवं संगठित संस्थाहरुको लागि प्रस्तावगरिएको छ । सो कम्पनीले नेपालमा क्रेडिट रेटिङ्ग व्यवसाय गर्नको लागि प्रचलित कानून वमोजिम कम्पनी स्थापना गर्नुपर्नेछ ।

यसरी स्थापित कम्पनीले क्रेडिट रेटिङ्ग व्यवसाय गर्ने अनुमतिपत्रको लागि वोर्डमा निवेदन दिनु पर्ने शर्त राखिएको बोर्डले जानकारी दिएको छ ।

‘सार्वजनिक रुपमा धितोपत्र निष्काशन गर्न चाहने कम्पनीहरुको क्रेडिटवोर्धीनेस निर्धारण गरी लगानीकर्ताहरुलाई धितोपत्रमा लगानी गर्नु अघि सुसूचितपूर्ण निर्णय लिन सहयोग पु¥याउने व्यवस्थाको लागि धितोपत्र बजारमा क्रेडिट रेटिङ्ग कम्पनीको प्रवेशलाई प्रोत्साहन गर्नुपर्ने आवश्यकता रहेको र हाल नेपालमा एक मात्र क्रेडिट रेटिङ्ग संस्था रहेको परिप्रेक्ष्यमा थप क्रेडिट रेटिङ्ग संस्थाको प्रवेशले क्रेडिट रेटिङ्ग व्यवसाय प्रतिस्पर्धी भई यस्को व्यवसायीकस्तर वढ्न जाने तथा सेवाग्राहीले अझ सहज एवं सरल ढंगले सेवा प्राप्त गर्न सक्ने अपेक्षा गरेका छौं,’ बोर्डले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

यो रेटिंग कम्पनीमा इन्डियाको ५१ प्रतिशत र बाँकी सेयर नेपालीहरुको बिशाल ग्रुप समूहबाट अशोक अ्रगवालले प्रतिनिधित्व गरेका छन् ।

अहिले नेपालमा क्रेडिट रेटिङको लागि इक्रा नेपाल मात्रै संचालनमा छ । अहिले बोर्डले अनुमति दिएको कम्पनी सहित क्रेडिट रेटिङको क्षेत्रमा अब २ कम्पनी हुने भएका छन् ।


क्लिकमान्डु