गत साता कारोबार रकम र कारोबार संख्या दुबै घट्यो, करिब ४५ लाख कित्ता नयाँ सेयर थपिए




काठमाडौं । गत साता नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा १ सय ५४ कम्पनीहरुको सेयर कारोबार भएको छ । जस अनुसार २३ हजार ३ सय २१ कारोबारबाट ३ अर्ब २८ करोड ७६ लाख ६२ हजार रुपैयाँ बराबरका ४२ लाख ९८ हजार दुई सय कत्ता सेयरहरु खरिद बिक्री भएका छन् ।

नेप्सेले दिएको जानकारी अनुसार कारोबार रकम गत साताको भन्दा ४३ दशमलब ६३ प्रतिशत कम भएको छ । । गत साता १ सय ५२ कम्पनीहरुको कारोबार भएको थियो । जस अनुसार ३७ हजार ४ सय ३६ कारोबारबाट ५ अर्ब ८३ करोड २५ लाख ३५ हजार रुपैयाँ बराबरका ७४ लाख ६१ हजार तीन सय १० कित्ता सेयरहरु खरिद बिक्री भएका थिए ।

साताको नेप्से परिसूचक पहिलो दिनको तुलनामा २६ दशमलब २७ अंकले घटेर अन्तिम दिन १५ सय ४४ दशमब ६८ अंकमा पुगेको छ ।

‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पहिलो दिनको तुलनामा ५.३७ अंकले घटेर ३ सय ३४.४३ अंकमा आईपुगेको छ ।

गत साता कारोबार रकम (३५ करोड ४४ लाख ७० हजार रुपैयाँ) को आधारमा शिखर इन्स्योरेन्स कम्पनी अग्रस्थानमा रहेको छ । त्यसैगरी कारोबार भएको सेयर संख्या (तीन लाख १४ हजार कित्ता)  को आधारमा सिद्धार्थ बैंक अग्रस्थानमा रहेको छ । त्यसैगरी कारोबार संख्या (१८४८ वटा) को आधारमा पनि सिद्धार्थ बैंक नै अग्रस्थानमा छ ।

गत साता २ कम्पनीका साधारण सेयर, ३ कम्पनीका बोनस सेयर र एक कम्पनीको हकप्रद सेयर नेप्सेमा थपिएका छन् । नेसनल माइक्रोफाइनान्स वित्तीय संस्थाको १० लाख कित्ता र आरएसडिसी लघुवित्त वित्तीय संस्थाका १० लाख कित्ता साधारण सेयर नेप्सेमा थपिएका हुन् ।

यस्तै फस्र्ट माइक्रोफाइनान्स डेभलपमेन्ट बैंकका ३ लाख ४५ हजार, मालिका विकास बैंकका ७ लाख ६ हजार ८ सय ३५ र सिद्धार्थ फाइनान्सका ३ लाख ५५ हजार ९ सय ५० कित्ता बोनस सेयर थपिएका छन् । सोही अवधिमा रिडी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीका ११ लाख ५५ हजार हकप्रद सेयर पनि नेप्सेमा सुचिकृत भएका छन् ।


क्लिकमान्डु