पुरुष र बजेटबिनै महिलाले खने ४ किलोमिटर बाटो



women-road-worker

जाजरकोट । यहाँका महिला आफैं बजेटको जोहो गर्दै बाटो निर्माणमा जुटेका छन् । जिल्लाको डाडाँगाउँ–१ पालिका महिला गाउँको बाटो निर्माणमा जुटेका हुन् ।

पुरुष कमाईका लागि भारततिर गएका कारण महिला मात्र बाटो निर्माणमा जुटेको उनीहरु बताउँछन् ।

रुकुमको भल्म जोड्ने भेरी नदी पुलदेखि पालीको ठूला गाउँसम्मको बाटो निर्माणका लागि नमुना हरियाली महिला सहकारी र स्वास्थ्य आमा समूहका दिदीबैनी जुटेका छन् ।

पालीगाउँदेखि भल्मपुल सम्मको बाटो जोड्नलाई गाउँमा पुरुष नभएपछि महिलाले नै बाटो खन्न लाग्नु परेको नमुना हरियाली महिला सहकारी संस्थाकी अध्यक्ष धनकला थापाले जानकारी दिइन् ।

आफ्नो गाउँबाट छिमेकी जिल्ला रुकुम जानलाई र गाउँको मसानघाट जाने बाटोलाई सजिलो बनाउन यसरी बाटो निर्माणमा सबै महिला सङ्गठित भएर लागेको अध्यक्ष थापाको भनाइ छ ।

करिब चार किलोमिटर लम्बाइ रहेको बाटो निर्माण गर्न आफूहरुलाई कुनै सरकारी बजेटको आवश्यकता नपर्ने अध्यक्ष थापाले बताइन् । ३२ सदस्यीय नमुना हरियाली महिला सहकारी र २५ सदस्यीय स्वास्थ्य आमा समूहको संयुक्त निर्णयबाट गाउँका महिला बाटो खन्ने अभियानमा जुटेका छन् । दैनिक वाटो निर्माणका लागि ९२ जना महिला दिदीबैनीको सहभागिता रहने गरेको छ ।

अन्य छिमेकी गाउँ र जिल्लाका स्थानीयवासी महिलाको यो काम देखेर दङ्ग भएका छन् । पुरुष भएको भए बाटो निर्माण गर्दागर्दै मदिरा खान जाने,  जाँगर लगाएर काम नगर्ने देखिन्थ्यो, महिला भने पूरै मिहेनत गरेर सडक निर्माणमा जुटेका छन् । महिलाले केही गर्न सक्दैनन् भन्ने आरोपलाई यहाँका महिलाले चुनौती दिएका छन् । रासस


क्लिकमान्डु