कोरिया पठाइदिन्छु भन्दै साढे ५४ लाख ठगी गर्ने लाक्पा प्रहरीको फन्दामा



arrest

काठमाडौं । रोजगारीका लागि कोरिपा पठाइदिन्छु भन्दै ठगी गर्ने ३५ वर्षिय लाक्पा तेम्बा शेर्पालाई नेपाल प्रहरीले पक्राउ गरेको छ । शेर्पाले दोलखाका साङ्गे शेर्पालगायत ४ जनालाई आकर्षक तलब भएको कम्पनीमा रोजगारी लगाइदिने भन्दै ५४ लाख रुपैयाँ ठगी गरेको पुष्टि भएपछि प्रहरीले पक्राउ गरेको हो ।

प्रहरीका अनुसार शेर्पाले कोरिया पठाइदिन्छु भनेर टुरिष्ट भिजा लगाएर जापान पठाएका थिए । त्यसका लागि प्रतिव्यक्ति ११ लाख ५० हजार रुपैयाँ लिएका थिए । जापान पुगेपछि पनि फेरि शेर्पाका सहयोगी नर्वु छिरिङ गुरुङले प्रतिव्यक्ति २ लाखका दरले ४ जनासँग ८ लाख रुपैयाँ लिएका थिए ।

टुरिष्ट भिजाको समयावधि सकिएपछि जापानको इमिग्रेसनले पक्राउ गरी ९ महिना जेल हालेको थियो । जेल सँजाय भुक्तान गरिसकेपछि पीडितहरु नेपाल फर्किएका थिए । उनीहरुले दिएको जाहेरीका आधारमा प्रहरीले ठगी गर्ने शेर्पालाई पक्राउ गरेको हो ।

प्रहरीका अनुसार खोटाङको बालचोक स्थायी घर भएका उनी काठमाडौंको बौद्धमा अस्थायी बसोबास गर्दै आएका छन् । प्रहरीले सोमबार साँझ ५ बजे काठमाडौंको बौद्धस्थित तीनचुलीबाट पासपोर्टसहित पक्राउ गरेको जनाएको छ । पक्राउ परेका शेर्पा रोयल स्टार टाभल प्रालिका सञ्चालक हुन् । ठगी कार्यमा संलग्न अन्यको खोजीकार्य जारी रहेको महानगरीय प्रहरी परिषर टेकुले जनाएको छ ।


क्लिकमान्डु