गगन थापा र गोविन्द केसीबीच राती साढे १ बजेसम्म वार्ता, १० बुँदे सहमतिपत्र तयार



gagan-thapa-1

काठमाडौं । चिकित्सा क्षेत्रको विकृतिका विरुद्ध तीन हप्ताअघि देखि आमरण अनसनमा रहेका डा. गोविन्द केसीको अनसन तोडाउन स्वास्थ्यमन्त्री गगन थापाले अग्रसरता लिएका छन् । शिक्षा सचिव नेतृत्वको सरकारी टोली र डा. केसीको वार्ताटोली बीच भएको वार्तामा कुरा नमिलेपछि स्वास्थ्य मन्त्री थापाले आफु अग्रसर हुँदै वार्ता गरेका हुन् ।

मन्त्री थापा र डा. केसीका प्रतिनिधिबीच शिक्षा मन्त्रालयमा शुक्रबार राती साढे १ बजेसम्म वार्ता भएको थियो । शुक्रबार रातीको वार्तामा मिलेको तर केही प्राविधिक विषयमाथि शनिबार छलफल गरि अनसन तोड्ने सहमति भएको स्वास्थ्यमन्त्री थापाले क्लिकमाण्डूलाई जानकारी दिए ।

चिकित्सक संघका अध्य डा. मुक्तिराम श्रेष्ठले २ वार्ता टोलीबीच १० बुँदे सहमतिपत्र तयार भएको बताए । सहमतिपत्रलाई अन्तिम रुप दिन अहिले केहीबेरपछि फेरी बार्ता सुरु हुने मन्त्री थापाले बताए ।

त्रिवि चिकित्सा शास्त्र अध्ययन संकायको डिनमा डा. केपी सिंहलाई नियुक्ति गरेकै दिनदेखि उनको राजिनामा माग गर्दै डा. केसी अनसन बसेका थिए । बरिष्ठताका आधारमा डिन नियुक्ति गर्नुपर्ने उनको माग छ ।

त्रिवि स्वायत्त निकाय हो, उसको प्रक्रिया अनुसार नयाँ डिन नियुक्त गर्न समय लाग्ने भएकाले रातीको बार्तामा सहमति हुन नसकेको हो । केसीले डिन सिंहले राजिनामा दिएपनि नयाँ डिन नियुक्त नभएसम्म अनसन नतोड्ने अडान राख्दै आएका छन् ।

तर, सरकारी अधिकारीहरु भने प्रक्रिया पुर्याएर शनिबार नयाँ डिन नियुक्त गरी केसीको अनसन तोडाउने प्रयास गरिरहेका छन् । त्रिभुवन विश्वविद्यालयका उपकुलपति डा. तिर्थ खनियाँले नयाँ डिन नियुक्तिका लागि तीब्र गतिमा प्रक्रिया अघि बढाइएको जानकारी दिए ।

चिकित्सक संघका अध्य डा. मुक्तिराम श्रेष्ठले २ वार्ता टोलीबीच १० बुँदे सहमतिपत्र तयार भएको बताए । सहमतिपत्रलाई अन्तिम रुप दिन अहिले केहीबेरपछि फेरी बार्ता सुरु हुने मन्त्री थापाले बताए ।

केसीका अधिकांश माग स्वास्थ्य मन्त्रालयसँग सम्वन्धित नभएपनि स्वास्थ्य मन्त्री थापाले लामो समयदेखि निकासका लागि धेरै पहल गरिरहेका छन् ।


क्लिकमान्डु