स्वास्थ्यमन्त्री थापा र डा. केसीका प्रतिनिधिबिच मन्त्रालयमा वार्ता हुदै, निकास निस्कने सम्भावना



dr-govinda-kc

काठमाडौं । चिकित्सा र स्वास्थ्य क्षेत्रका विकृति विरुद्ध २० दिनदेखि अनसनरत डा. गोविन्द केसीका प्रतिनिधि र स्वास्थ्यमन्त्री गगनकुमार थापाविच वार्ता भइरहेको छ ।

डा. केसीको माग अनुसार नै चिकित्सा शास्त्र अध्ययन संस्थान (आइओएम) का डिन डा. केपी सिंहले पदवाट राजिनामा दिएपछि डा. केसीले अनसन तोड्ने अपेक्षा सहित शिक्षा सचिवको नेतृत्वमा रहेको सरकारी वार्ताटोली र डा. केसीको तर्फवाट वार्तामा सहभागी टोलीविच कुरा नमिले पछि स्वास्थ्यमन्त्रीकै अग्रसरतामा वार्ता सुरु भएको हो ।

डा. केसीका प्रतिनिधि र स्वास्थ्यमन्त्री विच अहिले मन्त्रालयमा वार्ता भइरहेको र निकास निस्कने सम्भावना रहेको स्वास्थ्यमन्त्री थापाका प्रेस सल्लाहकार जीबन भण्डारीले क्लिकमाण्डूलाई जानकारी दिए ।

‘डा. केसीका प्रतिनिधि र स्वास्थ्यमन्त्रीविच वार्ता भइरहेको छ, सम्भवतः आजै निकास निस्कन्छ होला,’ प्रेस सल्लाहकार भण्डारीले क्लिकमाण्डूसँग भने ।

शिक्षा सचिव शान्तबहादुर श्रेष्ठको संयोजकत्वमा रहेको सरकारी वार्ता टोलीसँग आजै साँझ भएको छलफलमा कुरा नमिले पछि स्वास्थ्यमन्त्रीसँग वार्ता भएको हो । डा. केसीका प्रतिनिधिले त्रिभुवन विश्वविद्यालयका उपकुलपति डा. तिर्थ खनियाको राजिनामा र आइओएममा बरिष्ठताको आधारमा तत्काल डिन नियुक्त हुनुपर्ने अडान लिएपछि स्वास्थ्यमन्त्रीसँग नै वार्ता भएको हो ।

वरिष्ठता आधारमा डिन नियुक्ति गर्दा डा. जगदीप्रसाद अग्रवाल सिफारिसको पहिलो नम्बरमा थिए । दोस्रोमा डा. केपी सिंह र तेस्रोमा डा. ज्योति शर्माको नाम थियो । यो सिफारिस मिचेर त्रिभुवन विश्वविद्यालयले दोस्रो प्राथमिकताका सिंहलाई डिन बनाएको हो ।

सोही कारण डा. केसी २० दिनदेखि त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा अनसनरत छन् ।


क्लिकमान्डु