डा. केसीलाई अनसन तोडाउन वार्ता हुदै



 

 

dr-govinda-kcकाठमाडौं । डा. गोविन्द केसीको प्रतिनिधि मण्डल सरकारी वार्ता टोलीसँग वार्ता गर्न शिक्षा मन्त्रालय जान लागेको छ । चिकित्सा शास्त्र अध्ययन संस्थान (आइओएम) का डिन डा. केपी सिंहले राजीनामा दिएपछि डा. केसी र सरकारी वार्ता टोलीविच पुन वार्ता हुन लागेको हो ।

यो पनि पढ्नुहोस्- पूरा भयो गोविन्द केसीको माग, आइओएमका डिन केपी सिंहले दिए राजिनामा 

डा. सिंहले पदवाट राजीनामा दिएपछि डा. केसी र सरकारी टोलीविच वार्ता हुन लागेको शिक्षा सचिव शान्तवहादुर श्रेष्ठले जानकारी दिए । केसीका प्रतिनिधिले साढे ४ बजे वार्ताको लागि आउने भनेपनि साढे ५ बजेसम्म नआइपुगेको उनको भनाइ छ ।

‘उहाँहरु (डा. केसीका प्रतिनिधि) ले साढे ४ बजेसम्ममा आइपुग्ने जानकारी दिनुभएको थियो, अहिले साढे ५ बजीसकेको छ, उहाँहरु आइपुग्नु भएको छैन, हामी मन्त्रालयमा कुरिरहेका छौं,’ सचिब श्रेष्ठले क्लिकमाण्डूसँग भने ।

डा. केसी आइओएममा बरिष्ठताको आधारमा डिन नियुक्त हुनुपर्ने लगायतका माग राखेर २० दिनदेखि अनसनरत थिए । डा. केसीको मागकै कारण सरकारले २० दिन अघि डिनमा नियुक्त गरेको डा. सिंहले शुक्रवार अपरान्ह पदवाट राजिनामा दिएका थिए । उनको राजिनामा पछि डा. केसीले शुक्रवार नै अनसन तोड्ने अपेक्षा सरकारी पक्षले गरेको छ ।

शिक्षा सचिवको नेतृत्वमा रहेको सरकारी वाता टोलीसँग वार्ता गर्नको लागि डा. केसीको तर्फवाट रन्जन सापकोटाको नेतृत्वमा प्रतिनिधि मण्डल मन्त्रालय जादैछ । सरकारी वार्ता टोली र डा. केसीका विचमा डिनको राजीनामा वाहेकका अन्य विषयमा सहमति भए आजै अनसन तोडिने सम्भावना छ ।


क्लिकमान्डु