ग्याँस उत्पादन परीक्षणको तयारी, इमाडोलमा नमुना प्लान्ट बन्दै



gas_inside

काठमाडौं । उपत्यकाका १४ स्थानबाट ग्याँस उत्पादन गर्न सकिने निशकर्षमा पुगेको खानी तथा भूगर्भ विभागले परीक्षणको रूपमा छिट्टै ग्याँस उत्पादन सुरू गर्ने भएको छ ।

ललितपुरको इमाडोलमा जमिनमुनिबाट मिथेन ग्याँस उत्खनन गरी भण्डारण गर्न अहिले ड्रिलिङको काम भइरहेको विभागले जनाएको छ । विभागका अनुसार प्लान्ट राख्नन मेसिन जडान गरी ग्याँस च्याम्बर निर्माणको काम अघि बढेको छ ।

गत वर्ष नाकाबन्दीले लामो समय खाना पकाउने एलपी ग्याँसमा हाहाकार भएपछि सरकारले उपत्यकामा रहेको जमिनमुनिको ग्याँसमा चासो दिएको थियो । ‘दशैं अघि नै परीक्षण सुरु गर्ने लक्ष्य थियो तर प्राविधिक कारणले केही पछि धकेलिएको छ ।’ महानिर्देशक राजेन्द्र खनालले भने ।

‘हामीले उपत्यका भित्रका विभिन्न स्थानमा अध्ययन गरिसकेका छौं,’ विभागको प्राकृतिक ग्याँस तथा कोइला शाखाका प्रमुख पृथ्वीलाल श्रेष्ठले भने । टेकुदेखि दक्षिणी भेगको २६ किलोमिटरको क्षेत्रफलमा यस्तो ग्याँसको ठुलो सम्भावना छ ।

पहिल्यै थियो प्लान्ट

३ दशक अगाडि नै काठमाडौंवासीले जमिनमुनिको ग्याँस खाना पकाउन पाएका थिए । टेकुको पँचलीमा रहेको सानो प्लान्टबाट जापानको सहयोगमा २०४० सालमा ग्याँस निकालेर सरकारी र स्थानीयको घरयासीमा प्रयोग भएको थियो । त्यसपछि उपत्यकाको थप ग्याँस सम्भावनाको खोजी र उत्खननबारे खासै पहल भएन् । पछि टेकुको सानो प्लान्ट पनि बन्द भयो ।

पचलीको पुरानै प्लान्टलाई पुनःपरीक्षणमा ल्याउने प्रयास भए पनि पाइप ब्लक भएको तथा फलाममा खिया लागेर काम नलाग्ने भएको छ । ‘त्यसलाई पुन: सञ्चालन गर्न भन्दा नयाँ सुरू गर्न सजिलो भएकाले इमाडोलबाट काम सुरू भएको हो’ भन्छन् श्रेष्ठ ।

पहिलो चरणमा परिक्षणका रूपमा सानो मोबाइल प्लान्ट निर्माण गर्न लागेको बिभागले जनाएको छ । एक स्थानमा परीक्षण सफल नभए अर्को स्थानमा लान सकिने भएकाले यस्तो प्लान्ट बनाउँन लागिएको हो ।

पहिलो चरणमा परिक्षणका रूपमा सानो मोबाइल प्लान्ट निर्माण गर्न लागेको बिभागले जनाएको छ । एक स्थानमा परीक्षण सफल नभए अर्को स्थानमा लान सकिने भएकाले यस्तो प्लान्ट बनाउँन लागिएको हो ।

उत्पादित ग्यास वितरण गर्न योग्य भए सुरूमा आसपासका सरकारी कार्यालयमा प्रयोगमा ल्याइने छ । विदेशतिर यस्तो ग्यास सिटी बस, ट्याम्पोमा प्रयोग गर्ने गरिएको छ साथै पाइपलाइनबाटै घरमा पनि जडान गर्ने गरिन्छ ।

कसरी निस्कन्छ ग्याँस ?

ग्याँसको सम्भावना रहेको स्थानमा लगभग ३ सय मिटर जमीन मुनिसम्म डि्रलिङ गरेर मात्र ग्यास निकाल्न सकिन्छ । जमिनमुनि ग्याँस पानीसँग मिसिएर रहेको हुन्छ । कार्बनको मात्रा एक भाग र हाइड्रोजनको मात्र चार हुन्छ जसलाई ‘सिएसफोर’ भनिन्छ । पाइपबाट ग्याँसलाई प्लान्ट वा च्याप्बरमा संकलन गरी सिँधै  वितरण गर्न सकिन्छ । यो ग्याँस जस्तो निस्किन्छ त्यस्तै वितरण गरिने हो ।

अहिले खाना पकाउन प्रयोगमा आएको एलपी ग्याँस जस्तो नभई यो ग्याँस रंगहीन र गन्धहीन हुन्छ । यसमा सुरक्षाका लागि एलपी ग्यासमा जस्तै ओडोलाइजरको प्रयोग भने गर्न सकिन्छ ।

चुनौती धेरै

अहिले विभागले गरेको पहल परिक्षणको चरण मात्रै हो । उद्योग मन्त्रालयले यसबर्ष ग्याँस उत्पादनलाई प्राथमिकता दिए पनि नेपालमा दक्ष जनशक्ती वा विज्ञहरुको अभाव छ ।

‘आवश्यक प्रविधि सबै विदेशबाट झिकाउनु पर्छ । यसमा काम गर्न कम्पनीहरु पनि उत्तिसारो इच्छुक नदेखिने र सामान्य  टेन्डरमा पनि समस्या हुने गरेको छ ।’ विभागको प्राकृतिक ग्यास तथा कोइला शाखाका प्रमुख पृथ्वीलाल श्रेष्ठ भन्छन्,’ एनालाइजर, प्रोमिटर लगायतका प्रविधिहरु हामीसँग छैन्, सबै विदेशबाट झिकाउनु पर्ने भएकाले ठूलो बजेट आवश्यक पर्छ।

gas_1
इमाडोलस्ठित सिल गरेर राखिएको पुरानो ग्याँस च्याम्बर । तस्वीर: क्लिकमान्डु


क्लिकमान्डु