सोसल मिडियामा नेपाली नेता, कसको बढी लाइक र फलोअर



social_inside
अमेरिकामा राष्ट्रपति बाराक ओबामाको ट्विटर एकाउन्टमा ७ करोड ७० लाख भन्दा बढी फलोअर छन् भने उनको फेसबुक पेज ४ करोड ९८ लाख भन्दा बढीले लाइक गरेका छन् । ओवामाले हालै फेसबुक मार्फत आएका प्रश्नहरूको उत्तर दिने कार्यको पनि थालनी गरे ।

भारतका प्रधानमन्त्री नरेन्द्र मोदी पनि सोसल मिडियामा सक्रिय रहेने अर्का राजनेता हुन् । उनको ट्विटर एकाउन्टमा २ करोड २३ लाख भन्दा बढी फलोअर र फेसबुकमा ३ करोड ५७ लाख भन्दा बढी लाइक भएको छ ।

ओबामा र मोदी आफ्ना देशका मात्र नभएर विश्वकै सेलिब्रेटी भएपछि सोसल मिडियामा पनि उनीहरूको उपस्थिती सेलिब्रेटीकै रुपमा छ । सोसल मिडिया मार्फत् करोडौं व्यक्तिमा एकै पटक सूचना र आफ्नो भावना ब्यक्त गर्न पाइने र संचार माध्यमले आफ्ना ट्विट र स्टाटसलाई समाचार बनाउने भएपछि उनीहरू सोसल मिडियामा समेत शक्तिशाली बनेका छन् ।

नेपालको परिप्रेक्ष्यमा हेर्ने हो भने पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईलाई सेलिब्रेटी मान्न सकिन्छ । उनको ट्विटर एकाउन्टमा ५ लाख ३ हजार भन्दा बढी फलोअर र उनको फेसबुक पेजलाई १२ लाख भन्दा बढीले लाइक गरेका छन् । प्रधानमन्त्री हुनु भन्दा अगाडि देखिनै ट्विटरमा लालध्वज ह्याण्डलवाट छिरेका भट्टराई प्रधानमन्त्री भएको बेला केही लोकप्रिय काम गरेपछि उनी सोसल मिडियामा थप लोकप्रिय बन्दै गए । नयाँ शक्ति पार्टी खोलेपछि उनले आफ्नो फलोअर र लाइकको संख्यामा बृद्धि गरे ।

पूर्व प्रधानमन्त्री केपि शर्मा ओलीको पनि आफ्नै ट्विटर ह्याण्डल रहेको छ । प्रधानमन्त्री हुदाँ प्रधानमन्त्रीको नाममा चलाए पनि उनी आफ्नो भनाईका कारण सोसल मिडियामा ट्रेण्डमा बढी देखा परे । भारतले गरेको नाकाबन्दीको समयमा ‘थ्याङयु केपी ओली’ ‘आइएम विथ केपी ओली’ आदीमा बढी देखा परे ।
वर्तमान प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पदभार ग्रहण गरेसँगै ट्विटरमा पिएम अण्डरस्कोर नेपाल नामवाट देखिएका छन् ।

कांग्रेसका युवा नेता गगन थापालाई पनि सोसल मिडियामा लोकप्रिय मानिन्छ । युवाहरु विच लोकप्रिय रहेका थापाको ट्विटरमा ३ लाख ६२ हजार भन्दा बढी फलोअर र फेसबुकमा १ लाख ३० हजार भन्दा बढी लाईक रहेको छ ।

पछिल्लो पटक धेरै नेताहरु आफुलाई सोसल मिडियासँग जोडिदै छन् । कतिपयको एकाउन्ट भेरिफाइड नभएको कारण फेक एकाउन्टको संख्या पनि बढीरहेको छ ।


क्लिकमान्डु