फेसबुकका मालिक टाइसुट किन लगाउँदैनन् ?



Mark_Zukarbarg_Dress
सामाजिक सञ्जालका फेसबुकका मालिक मार्क जकरवर्ग विश्व चर्चित व्यवसायी हुन् । उनीसँग अरबौंको सम्पत्ति छ । विश्वका अर्बपतिको सूचीमा उनको नाम १६ औँ स्थानमा आउँछ  । साँच्चै भन्ने हो भने उनलाई दैनिक फरक–फरक टाइसुटमा ठाँटिएर हिँड्न कुनै अप्ठ्यारो पनि हुँदैन ।

फेसन कन्सियस मुलुक अमेरिकामा जन्मिएका मार्कले दैनिक लगाउने कपडाका बारेमा धेरै जना अचम्ममा पर्ने गरेका छन् । किनभने उनलाई कहिल्यै कोट–पाइन्ट र टाइमा सजिएर हिँडेको देख्न पाइन्न । अचम्मको आदत भएका उनी दैनिकजसो एकैखाले टि–सर्ट र पाइन्ट देखिन्छन् ।

जम्पर वा हुड उनको रोजाइमा पर्छ । त्यो पनि प्रायः खैरो र फूस्रो रंगमा ।  पाइन्ट पनि प्रायः नीलो कलरकै रुचाउँछन् । ठूला सार्वजनिक समारोहमा पनि सुट लगाउँदैनन् । वाध्यता पर्यो भने कहिलेकाँहीं सुटमा झुल्किन्छन् ।

एक अन्तर्वार्तामा मार्कले आफूलाई कपडा छान्ने जस्तो सानो कामका लागि समय नभएको र आफूलाई कपडा छानिरहने चाहना नभएको बताएका थिए । अथाह सम्पत्ति भरपनि फेसन प्रति सजग नभएको कारण उनलाई कञ्जुस अर्बपती भन्ने जमात पनि रहेको छ ।

सुटलाई औपचारिक पोशाक मानिने अमेरिकामा मार्कले एकैखाले कपडा पहिरिनुलाई एप्पलका संस्थापक स्टिब जब्ससँग पनि तुलना गरिएको छ । किनकी स्टिबले पनि एकैखाले कालो ड्रेसको फेसनमा रमाउने गर्थे । त्यसैले मार्कलाई स्टिबकै ‘एक्जुकेटिभ आइडल’ पनि मानिन्छ ।


क्लिकमान्डु