एनटिसीको १० करोड लगानी, बालुवामा पानी!



meet-ucsकाठमाडौं । नेपाल टेलिकमको एक महत्त्वाकाङ्क्षी परियोजना करिब असफल साबित भएको छ । नेपाली इन्टरनेट प्रयोगकर्तालाई लक्षित गरी टेलिकमले ७ महिना अगाडि सामाजिक सञ्जाल ‘मीट’ सुरू गरेको थियो । ७ महिना बितिसक्दा पनि बजारमा यसको उपस्थिति अत्यन्तै कमजोर छ ।

फेसबुक, ट्वीटर जस्ता सामाजिक सञ्चालको प्रयोग व्यापक हुँदै गएपछि टेलिकमले प्रसस्त सम्भावना देखेर मीट (meet.net.np) सञ्चालनमा ल्याएको हो । १० करोड २० लाख रूपैयाँमा एक भारतीय कम्पनीले मीटको वेब संस्करण तथा मोबाइल एप्स निर्माण गरेको थियो । तत्कालिन सञ्चार मन्त्री शेरधन राइले यसको ओपचारिक उद्घाटन गरेका थिए ।

मिटमा खाता खोल्नेको संख्या ७ महिनामा मुस्किलले ४७ हजार पुगेको छ । खाता खोल्ने अधिकांश नियमित रूपमा सक्रिय छैनन् ।

किन चलेन? के के हुन मुख्य कमजोरी?

नेपाल टेलिकमका मोबाइल प्रयोगकर्ताले मात्र प्रयोग गर्न मिल्ने प्रावधानले नै पनि यसलाई सिमित गरेको छ । जब कि देशभर एनटिसी बाहेकका प्रयोगकर्ताको हिस्सा आधा भन्दा बढि छ । नेपाल बाहिर रोजगारी र अन्य सिलसिलामा बस्ने ४० लाख भन्दा बढि नेपालीलाई पनि यसले जोड्न सकेन ।

जसलाई यसको लक्षित प्रयोगकर्ता ठानिएको छ उनिहरूसँग उस्तै सेवाका थुप्रै बिकल्प छन् । फेसबुक, ट्वीटर, भाइवर जस्ता विश्वभर कब्जा जमाएका प्लेटफर्मसँग मीटले प्रतिश्पर्धा गर्नु छ । यो सानोतिनो चुनौती हैन् । उनीहरूका भन्दा भिन्न विशेषता र सुविधा दिन नसके यसको प्रयोगमा लोभ्याउन सकिदैन ।

चल्तीमा रहेका सामाजिक सञ्जाल भन्दा अत्यन्तै सीमित सुविधा र प्रयोग गर्न झन्डटिलो ‘युजर इन्टरफेस’ नै मीटमा आकर्षण नहुनुको मुख्य कारण हो ।

चल्तीमा रहेका सामाजिक सञ्जाल भन्दा अत्यन्तै सीमित सुविधा र प्रयोग गर्न झन्डटिलो ‘युजर इन्टरफेस’ नै मीटमा आकर्षण नहुनुको मुख्य कारण हो ।

मीटको वेब संस्करणमा निश्चित भर्सनका इन्टरनेट ब्राउरमा मात्र यसको प्रयोग गर्न सुझाइएको छ । चल्तीमा रहेका सबै मुख्य ब्राउजर र स्क्रीन रेजुलेशन मेल खाँदैन भने यसले प्रयोगकर्ताको आकर्षण कम गर्दछ । ब्राउजर र डिभाइस कम्प्याटिबिलिटीलाई नै सम्बोधन गर्न नसक्नु अर्को कमजोरी हो ।

यसमा डेटा स्टोर गर्ने र सेयर गर्ने क्षमतामा सिमितता छ । यसले हरेक प्रयोगकर्तालाई जम्मा १ जिबी मात्र स्टोरेज क्षमता दिएको छ । फेसबुक जस्ता सञ्जालमा सामान्यत यसको सीमा तोकिएको हुँदैन ।

के के छन यसका फरक सुविधा?

एनटिसीले फेसबुक, गुगल प्लस, लिङ्क्डइन जस्ता सोसियल मिडियालाई यसमा जोडेर कतिपय सुविधाहरू यसैबाट सिधै प्रयोग गर्न मिल्ने ‘इन्ट्रिग्रेटेड प्लेटफर्म’लाई मीटको मुख्य विशेषता दाबी गर्दै आएको छ । एनटिसी प्रवक्ता प्रतिभा बैध्य भन्छिन्- ‘मीटका प्रयोगकर्ता एकपटक जोडिएपछि धेरै सोसियल मिडियामा लग इन गरी रहन पर्दैन ।‘ तर बैधले भने झै मीटले अरू प्लेटफर्ममाथि पुरै नियन्त्रण गर्न भने सक्दैन् । उनिहरूले मीट जस्ता ‘थर्ड पार्टी’लाई दिने पहुँच र सुविधामा फेरबदल गरी रहन सक्छन्, पुरै रोक्न पनि सक्छन् ।

नेपाली प्रयोगकर्तालाई एनटिसीकै मोबाइलमा दिनको १० वटा सम्म एस एम एस सित्तैमा पठाउने सुविधा छ । यो भन्दा बढि चाहिए पैसा तिरेर पनि यस्तो सुविधा प्रयोग गर्न सकिन्छ । स्कुल- कलेज, सघ संस्थाले एकै पटक सयौं एसएमएस पठाउने प्याकेज पनि खरिद गर्न सक्छन् । तर, यो सुविधा एनटिसीले मीट सुरु गर्नु धेरै पहिले वेब एसएसएसका नाममा दिदै आएको थियो ।

अर्को सुविधा भनेको वेब वा एप बाटै फोन गर्न मिल्ने हो । तर, यो सुविधा मीटले ७ महिना बितिसक्दा पनि सञ्चालनमा ल्याउन सकेको छैन् ।

एप्स पनि चलेन

७ महिनाको अवधीमा यो एप्स गुगल प्लेस्टोरबाट डाउनलोड गर्नेको संख्या ५ हजार पनि नाघ्न सकेको छैन, जुन ज्यादै न्युन संख्या हो । एप्सका प्रयोगकर्ताले प्लेस्टोरमा नकरात्मक रेटिङ र असन्तुष्टीका टिप्पणी बढि गरेका छन् । अधिकाशं प्रयोगकर्ताको गुनासो ‘युजर फ्रेन्डली’ नभएको र थुप्रै प्राविधिक त्रुटीहरू औलाएका छन् ।

‘सोसियल मिडिया मोनिटरिङ र एनालाइजिङ’मा काम गरिराखेको लक्ष्य कम्पनीका निर्देशक लेनिन बन्जाडे भन्छन्-  ‘अहिलेसम्म मीटको सामान्य जानकारी सम्म पनि उपभोक्तामा पुगेको छैन् ।‘

सुधार सम्भव छ?

वेब र एप्स बजारका लागि ७ महिनाको अवधि लामो अवधि हो । प्राविधिक र प्रयोगको ट्रेन्डका हिसाबले पनि छोटो समयमा धेरै कुरा फेरबदल भइरहन्छन् । एनटिसी प्रवक्ता बैधले यसमा चरणबद्द सुधारका योजना रहेको दाबी गरेकी छन् । तर, थला परिसकेको यो परियोजनाले टाउको उठाउन सजिलो भने छैन् ।


क्लिकमान्डु