भाद्र १४ देखि नाडा अटो शो हुने



NADA-AUTO_01
आगामी भाद्र १४ देखि १९ गतेसम्म भृकुटीमण्डप प्रदर्शनी कक्षमा सवारी साधनको मेला ‘नाडा अटो शो २०७३’ हुने भएको छ । उक्त प्रदर्शनीमा नेपालमा प्रख्यात सवारी साधन, पार्टपुर्जा तथा अन्य एसेसरिजहरु प्रदर्शनमा राखिने छन् । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल र ग्लोबल एक्सपोजिसन एन्ड म्यानेजमेन्ट सर्भिसेजको संयुक्त आयोजनामा उक्त अटो शो हुने भएको हो ।

गत बर्ष महानायक राजेश हमाल ब्रान्ड एम्बेसडर रहेकोमा यस बर्ष क्याप्टेन बिजय लामालाई ब्रान्ड एम्बेसडर बनाइएको छ । २ अर्बको कारोबार हुने लक्ष्य राखिएको अटो शोमा ३० देशका सवारी साधन सहभागी हुने नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालका अध्यक्ष अञ्जन श्रेष्ठले बताए ।

यस वर्ष मेलामा साना ठूला गरी लगभग १ सय २५ वटा स्टलहरु रहने छन् । ७४ वटा जति सहभागी संस्थाहरुले विभिन्न योजनासहित सवारी साधन जन्य वस्तु तथा अन्य सेवाहरु प्रदर्शनीमा राख्ने नाडाले बताएको छ । प्रदर्शनीमा १६ ब्रान्डका चार पांग्रे तथा १५ ब्रान्डका २ पांग्रे एवम् ५ ब्रान्डका हेभी कमर्सियल सवारी साधन प्रदर्शनीमा रहने आयोजकले जानकारी दिएका छन् ।

प्रदर्शनीमा वित्तीय संस्था, नयाँ प्राविधिक विकास, सवारी सुरक्षा प्रविधि, स्पेयर पार्ट्स, लुब्रिकेन्ट्स, टायर, ग्यारेज उपकरण, ब्याट्री तथा अन्य एसेसरिजहरुको सहभागिता रहने छ । जसमा नेपालमै उत्पादित सामग्रीहरु समेत रहने छन् ।

६ दिन सम्म चल्ने यस बर्षको नाडा अटो शो २०७३ मा लगभग ५० हजार अवलोकनकर्ता हुने आयोजकको अनुमान छ ।


क्लिकमान्डु