अब एप्स बिना नै उबर चलाउन मिल्ने



uber

ट्याक्सी ड्राइभरहरूलाई संसारभर टाउको दुखाइ बनेको मोबाइल एप्स ‘उबर’ ले आफ्ना प्रयोगकर्तालाई थप सजिलो विकल्प विकास गरेको छ । अब मोबाइल एप्स बिना नै इन्टरनेट ब्राउजरबाट उबर चलाउन मिल्ने भएको छ ।

तत्कालका लागि छिमेकी मुलुक भारतलाई लक्षित गरी उबरले विकास गरेको यो सुविधाले महंगा मोबाइल फोन किन्न नसक्ने र एप्स डाउनलोड गर्न प्राविधिक ज्ञान नभएकाले पनि यो सजिलो तरिकाबाट फाइदा उठाउने छन् ।

उबर कम्पनीले ‘डायल एन उबर’ अप्सन तत्काल भारतका लागि मात्र सार्वजनिक गरेको छ । उपभोक्ताले मोबाइल फोन वा कम्प्युटरको ब्राउजरमा dial.uber.com मा गई एप्स बिना नै ‘उबर ट्याक्सी’ सिधै बुक गर्न सक्छन् । यस अगाडि आफ्नो मोबाइलमा एप्स इन्टल नगरी उबर चलाउन सकिदैनथ्यो ।

ब्राउजरमा उबर चलाउन आफ्नो मोबाइल नम्बर उपलब्ध गराउनु पर्दछ । मोबाइल नम्बरको आधारमा व्यक्ति स्थान भेरिफाई गरी उबरले नजिकको उबर क्याबलाई सिफारिस गर्दछ । पुग्नुपर्ने ठाउँको आधारमा उपभोक्तालाई न्युनतम शुल्क र उबर क्याब आइपुग्न लाग्ने समय जस्ता सूचना तुरुन्तै उपलब्ध गराउँछ ।

आफ्ना प्रयोगकर्ता तीव्र बिस्तार गर्दै लगेको उबरले पछिल्लो समय भारत जस्ता कम आय हुने तर बढी जनसंख्या भएका देशमा प्राथमिकता दिएको छ । संसारका ५ सय भन्दा बढि सहरमा प्रयोग हुने उबर अहिलेसम्म भारतका केही मुख्य सहरहरूमा मात्र उपलब्ध छ ।

ट्याक्सी भन्दा सस्तोमा सर्वसाधारणले ट्याक्सी जस्तै सुविधा पाउने भएकाले उबरको प्रयोग निकै लोकप्रिय बन्दै गएको छ । तर ट्याक्सी व्यवसायलाई नै धरापमा पारेको र कतिपय कानुनी प्रश्न उठाएको भन्दै यो विभिन्न देशमा विवादमा पनि पर्ने गरेको छ ।


क्लिकमान्डु