नेपालमै हाइड्रोपावर इन्जिनियरिङ पढाइ सुरू हुँदै



hidro

काठमाडौँ  ।  नेपालमा पहिलो पटक हाइड्रोपावर इन्जिनियरिङको पढाइ सुरू हुने भएको छ ।  मध्यपश्चिमाञ्चल विश्वविद्यालयले  पहिलो पटक स्‍नातक तहमा यस्तो पढाइ सुरू गर्न लागेको हो ।  विश्वविद्यालयको सुर्खेत स्थित केन्द्रिय इन्जिनियरिङ क्याम्पसमा यसको पढाइ हुने भएको छ ।

धमाधम निर्माण हुन लागेका जल बिद्युत् आयोजनामा ठुलो संख्यामा दक्ष जनशक्ति माग हुने देखिएको छ । ‘प्रशस्त सम्भावना देखेर नै विश्वविद्यालयले नेपालमा पहिलो पटक यस्तो पढाइ सुरू गर्न लागेको हो ।’ विश्वविद्यालयद्वारा आयोजित पत्रकार सम्मेलनमा उपकुलपति प्रा डा उपेन्द्र कोइरालाले भने ।

पहिलो वर्ष ४८ विद्यार्थीबाट  सुरू गर्ने योजना बनाएको विश्वविद्यालयले विस्तारै संख्या र तह पनि बढाउने  बताएको छ । कात्तिक तेस्रो सातादेखि पढाइ सुरू गर्ने योजनामा रहेको विश्वविद्यालयले  भदौ ८ गतेदेखि फारम वितरण गर्ने र  ११ गते  प्रवेश परीक्षा लिइनेछ । परिक्षा सुर्खेत र काठमाडौेंमा एकै दिन हुने विश्वविद्यालयले जनाएको छ ।

कस्ले पाउँछन् पढ्न?

विज्ञान ( फिजिकल वा बायोलोजिकल समूह) मा उच्च मा.वि. , ए लेभल वा इन्जिनियरिङ डिप्लोमा सकेका विद्यार्थीले आवेदन दिन सक्ने छन् ।  ४५ प्रतिशत भन्दा कम  अंक ल्याएर पास गर्नेले भने प्रवेश परिक्षा दिन पाउँदैनन् । अन्तिम परिक्षाको नतिजा कुरेर बसेकाले भने पाउने छन् ।

कति लाग्छ खर्च?

४ वर्षे स्नातक तहको लागि ३ लाख ८४ हजार २ सय रूपैयाँ शुल्क लाग्ने विश्वविद्यालयद्वारा जारी सूचनामा उल्लेख छ । छात्रवृत्ति पाउनेले भने ३९ हजार ६ सय तिरे पुग्छ ।

 

 

 

 


क्लिकमान्डु