६० नाघेकालाई प्रविधि तालिम, टिभीको रिमोटदेखि फेसबुक चलाउन सिकाइने



ageing
मुलुकमा पहिलोपटक ६० वर्ष उमेर पार गरेका ज्येष्ठ नागरिकलाई प्राविधिक ज्ञानसहितको शिक्षा प्रदान गर्ने कार्यको थालनी गरिएको छ ।
ज्येष्ठ नागरिकका क्षेत्रमा कार्यरत गैरसरकारी संस्था एजिङ नेपालले ज्येष्ठ नागरिकलाई लक्षित गरेर प्राविधिक ज्ञानसमेतको आधारभूत साक्षरता कार्यक्रम सुरु गरेको हो ।
साक्षरता कक्षाका लागि संयुक्त राष्ट्रसंघको ज्येष्ठ नागरिकका सम्बन्धमा काम गर्ने गैरसरकारी समितिले सहयोग पुर्‍याएको छ ।
छ महिने सो कक्षामा ६० वर्षमाथिका २५ जना ज्येष्ठ नागरिकलाई सामान्य लेखपढ्का साथै कम्प्युटर, मोबाइल, स्काइप, फेसबुक र टेलिभिजनको रिमोट चलाउन समेत सिकाइनेछ ।
उक्त कक्षा बूढानीलकण्ठ नगरपालिका वडा नम्बर १२ कपनस्थित अष्टभूजा समाजको परिसरमा सञ्चालन गरिएको छ । कक्षामा हजुरआमाहरुको सख्या उल्लेखनीय रहेको जनाइएको छ ।
उनीहरुलाई सुरुमा नेपाली र अंग्रेजी अक्षर चिन्न सक्ने बनाइने साथै कम्प्यूटरको ‘कि–बोर्ड’मा ‘अप’ र ‘डाउन’ जस्ता सामान्य विषयबस्तु सिकाइने छ । आयोजक संस्था एजिङ नेपालका संस्थापक अध्यक्ष कृष्णमुरारी गौतम ‘चट्याङ मास्टर’ ले भने, ‘हामी चेतना विस्तारकै अभियानमा छौं, सुरुमा अक्षर चिन्न सक्ने बनाइने र विस्तारै प्रविधितर्फ ज्ञान दिने उदेश्य छ ।’
‘अक्षर चिनाएर, कि–बोर्ड चलाउन सक्ने भएपछि पहिलो चरणमा ‘स्काइप’ प्रयोग गर्न सक्ने बनाउने छौं, त्यसपछि अन्य प्राविधिक ज्ञान सिकाउँदै लैजान्छौं’,संस्थापक गौतले भने ।
ज्येष्ठ नागरिकलाई शिक्षा प्रदान गर्ने विषयमा सरकारका विभिन्न निकायमा आफूले गरेको अनुरोधलाई बेवास्ता गरिएकाले विदेशीको सहयोग लिएर अभियान सुरु गरिएको जानकारी उनले दिए ।
‘नमुना योजना’ का रुपमा अघि सारिएको यस कार्यक्रममार्फत आगामी डिसेम्बरसम्ममा २५ जना जेष्ठ नागरिकलाई आफैं ‘स्काइप’ वा ‘फेसबुक’मार्फत आफन्तसँग कुरा गर्न सक्षम बनाउने संस्थाको योजना छ ।
यस्तो कार्यक्रम नेपालसहित माली, मोजाम्बिक र टोगो गरी विश्वका चार देशमा परिक्षणका रुपमा सञ्चालनमा ल्याइएको छ ।
नेपाल सरकारको अनौपचारिक शिक्षा केन्द्रले संचालन गर्ने प्रौढ शिक्षा जस्तै अवधारणमा अघि सारिएको यस कार्यक्रम प्रविधिको ज्ञान दिलाउने चाहीं नेपालमै पहिलो मानिएको छ ।

 


क्लिकमान्डु