नेपालमा उत्पादन नै नहुने पाम आयल सबैभन्दा बढी निर्यात हुने वस्तु, व्यापारीले वर्षदिनमा कमाए २ अर्ब



काठमाडौं । नेपालबाट सबैभन्दा बढी निर्यात हुने वस्तु कुन होला ? धेरैको बुझाइ नेपालमा उत्पादन हुने अदुवा, अलैंची वा यस्तै जडिबुटी भन्नेमा हुन्छ ।

नेपालको निर्यात व्यापार न्यून छ । जसले गर्दा व्यापार घाटाको खाडल अत्यधिक ठूलो छ ।

नेपालबाट सबैभन्दा बढी निर्यात हुने वस्तुमा नेपालमा उत्पादन नै नहुने पाम आयल परेको छ ।

चालु आर्थिक वर्षको पहिलो दुई महिनामा भारततर्फ ३ करोड ५७ लाख ६ हजार ९८८ किलो बराबरको ३ अर्ब ६१ करोड ३८ लाख ८७५ रुपैयाँको पाम आयल भारततर्फ निकासी भएको छ ।

नेपालमा पाम आयलको उत्पादन हुँदैन । पाम भनिने रुखबाट यसको तेल बन्छ । जसको प्रयोग खानका लागि समेत हुन्छ । व्यवसायीहरुले नेपाल र भारतको भन्सार दरको फाइदा उठाउँदै तेस्रो मुलुकबाट पाम आयल आयल गरेर भारततर्फ निकासी गरेका हुन् ।

दक्षिण एशियाली स्वतन्त्र व्यापार सम्झौता (साफ्ट)को सम्झौता अनुसार भारतले नेपालबाट भारत जाने वस्तुमा पाम आयललाई पनि भन्सार रहित वस्तुको पहुँच दिएको छ । यसको फाइदा उठाउँदै व्यापारीले मलेसिया र इन्डोनेसियाबाट पाम आयल आयात गरेर भारततर्फ निकासी गरेका हुन् ।

भन्सार विभागको तथ्यांकअनुसार चालु आर्थिक वर्षको पहिलो दुई महिनामा इन्डोनेसियाबाट ५ करोड ३० लाख किलो बराबरको ३ अर्ब ३७ करोड रुपैयाँको पाम आयल आयात भएको छ । मलेसियाबाट २२ लाख किलोको १५ करोड रुपैयाँ बराबरको र पपुवा न्यूगिनीबाट १ लाख ५१ हजार किलो बराबरको १० करोड ३४ लाख रुपैयाँको पाम आयल आयात भएको छ ।

भन्सार विभागका प्रवक्ता शिशिर घिमिरे साफ्टाको प्रावधान अनुरुप पाम आयल भारततर्फ निकासी भएको बताउँछन् ।

‘सम्झौतामा तेस्रो मुलुकबाट कच्चा पदार्थ आयात भएपनि ३० प्रतिशत भ्यालु एड भएको वस्तुले निर्यातको सुविधा पाउने व्यवस्था छ, पाम आयलमा भ्यालु एड भए नभएको हेर्ने काम भने भारतको हो’ घिमिरेले भने ।

पाम आयल भारत निकासी गर्न आयात गरेपछि दुई महिनामा इन्डोनेसिया आयात बढी गर्ने देशमा तेस्रो सूचिमा उक्लेको छ । दुई महिनामा इन्डोनेसियाबाट ४ अर्ब ६८ करोड बराबरको आयात भएको छ । जसमा ७२ प्रतिशत हिस्सा पाम आयलको छ ।

गत आर्थिक वर्ष २०७५/७६ मा ९ करोड ५६ लाख किलो बराबरको १० अर्ब ३३ करोड बराबरको पाम आयल भारततर्फ निकासी भएको थियो । १६ करोड ८८ लाख किलो बराबरको ११ अर्ब ८६ करोड रुपैयाँको पाम आयल नेपालमा आयात भएको थियो । सरकारले पाम आयलको आयातबाट २ अर्ब रुपैयाँ भन्सार शुल्क समेत प्राप्त गरेको छ ।

लामो समय व्यापारको विषयमा कलम चलाएका बरिष्ठ आर्थिक पत्रकार गोकर्ण अवस्थी भन्साररहित बजार पहुँचलाई केही व्यवसायीले आफूले मात्र कमाउने माध्यम बनाएको बताउँछन् ।

‘१९९६ को वाणिज्य सन्धीपछि दिएको भन्साररहित बजार पहुँचमा वनस्पती घियुलगायतका वस्तुमा यसरी नै तेस्रो मुलुकबाट सामान ल्याउने र भारत लैजाने गरेपछि भारतले कोटा प्रणाली लगायो, अहिले जसरी पाम आयल तेस्रो मुलुकबाट आउने र भारत जाने काम भएको छ यसले भारतमा नेपालको इमेज नराम्रो हुन्छ,’ अवस्थीले भने ।

सम्झौता आफ्नो देशमा कच्चा पदार्थ उत्पादन नभएर अर्को देशबाट ल्याएको भएपनि सो वस्तुमा ३० प्रतिशत भ्यालु एड हुनुपर्ने व्यवस्था छ ।

तर पाम आयल व्यापारीहरुले ३० प्रतिशत भ्यालु एड नगरिकन नै निर्यात गरेका छन् । केही व्यवसायीले गरेको गलत कामको कारण नेपालका कृषिजन्य वस्तुहरु भारत निर्यात गर्दा समस्या उत्पन्न हुन सक्ने खतरा रहेको अवस्थी बताउँछन् ।

भारतले पाम आयलको भन्सार शुल्क बढाएसँगै नेपाली व्यवसायीले यसको फाइदा लिनका लागि पाप आयलको आयात गर्ने र भारत निर्यात गरेको देखिन्छ ।

आर्थिक वर्ष २०७४/७५ मा करिब ४ अर्बको पाम आयल आएपनि भारततर्फ निकासी भएको छैन । जब भारत सरकारले पाम आयलको भन्सार शुल्क बढायो आर्थिक वर्ष २०७५/७६ देखि भारततर्फ पाम आयल जान थालेको हो ।

अहिले भारत सरकारले प्रतिकिलो पाम आयलको आयातमा ५४ प्रतिशत भन्सार दर, १० प्रतिशत सेवा शुल्क र ५ प्रतिशत जीएसटी लगाउने गर्छ ।

त्यही वस्तु नेपाल ल्याएर यहाँ सामान्य भ्यालु एड गर्दा भन्साररहित भारतमा पुग्छ । गतवर्ष मात्र व्यापारीहरुले १० अर्बको निकासी गर्दा करिब २ अर्ब रुपैयाँ कमाएका छन् । यसमा भारतीयदेखि नेपाली व्यवसायी समेत नेपाल र भारतबीचको भन्सार दरबाट फाइदा लिन व्यापार गरिरहेका छन् ।

पूर्व वाणिज्य सचिव पुरुषोत्तम ओझा यस्तो खाले व्यापारबाट नेपाललाई राजस्व आए पनि उद्योग र रोजगारी सिर्जनामा फाइदा नहुने बताउँछन् ।

‘यस्तो व्यापारमा बढी फाइदा व्यापारीलाई हुन्छ, भारतसँग वाणिज्य वार्तामा बस्दा नेपाल कमजोर भएर प्रस्तुत हुनुपर्ने हुन्छ,’ ओझाले भने ।


क्लिकमान्डु