कृषि विकास बैंक लुट प्रकरणः ३ कर्मचारीलाई अनुसन्धानका लागि काठमाडौं झिकाइयो



काठमाडौं । कृषि विकास बैंकले आफ्नो लाहान शाखामा भएको लुटपाट प्रकरणको छानवि गर्न उक्त शाखामा कार्यरत ३ जना कर्मचारीलाई अनुसन्धानका लागि काठमडौं झिकाएको छ । ती कर्मचारीलाई बिहीबार बैंकले २४ घन्टाभित्र प्रधान कार्यालयमा उपस्थित हुन निर्देशन दिएको हो ।

‘बैंकको लाहान शाखामा भएको लुटपाट प्रकरणमा उक्त शाखामा कार्यरत ३ जना कर्मचारीको आइडी युज भएको देखिएको छ,’ कृषि विकास बैंकका उप-महाप्रबन्धक दीर्घ अर्यालले क्लिकमाण्डूसँग भने, ‘तीनैजना कर्मचारी र उनीहरुले प्रयोग गरेका कम्युटरसहित २४ घन्टाभित्र उपस्थि हुन निर्देशन दिइसकेका छौं । उनीहरु आज गाडी चढेर आइरहेका छन् ।’

कृषि विकास बैंक लुट प्रकरणः भारतमा बनेको थियो ५ अर्ब लुट्ने योजना, नविल बैंक जोगियो

बैंकका कर्मचारी राम सेवत यादव, डम्बरबहादुर केसी र सुनिल कुमार शाहको आइडी प्रयोग गरी लुटेराहरुले बैंकको ४ करोड ७३ लाख रुपैयाँ लुटेका छन् । महानगरीय अपराध महाशखा काठमाडौंले लुटपाट प्रकरणमा संलग्न १३ जनालाई पक्राउ गरिसकेको छ ।

बैंकका कर्मचारीको आइडी प्रयोग भएपनि उनीहरुको संलग्नता हो या होइन भन्ने विषयमा अनुसन्धान भइरहेको महाशाखाका प्रमुख सहकुल थापाले जानकारी दिए ।

बैंकका उप-महाप्रबन्धक अर्यालले पनि कर्मचारीहरुको संलग्नता भएको हो वा होइन भन्ने विषय छानविन गर्न उनीहरुलाई काठमाडौं बोलाइएको हो । तीनै जना कर्मचारी शाखा अधिकृत हुन् ।

सिराहा शाखामा जम्मा ७ जना कर्मचारी कार्यरत थिए । यो घटना भएपछि बैंकले उक्त शाखाका सबै कर्मचारीलाई अनुसन्धानका लागि केहीदिन निलम्बन गरेको छ । राजबिराज शाखाबाट लाहानका लागि कर्मचारी पठाइएको छ ।

‘लुटपाटमा आइडी प्रयोग भएका कर्मचारी र उनीहरुले प्रयोग गरेका कम्प्युटरलाई प्रधान कार्यालय झिकाएर अनुसन्धान गरेपछि सत्यतथय पत्ता लाग्छ,’ अर्यालले भने ।

लाहानको अध्ययन सकेर सौराहमा

कर्मचारीको आइडी युज गरेर बैंक लुटपाट भएको थाहा पाएपछि प्रधान कार्यालयबाट ४ जनाको विज्ञ टोली स्थलगत अध्ययनका लागि पठाइएको थियो । उक्त टोलीले लाहानको अध्ययन सकेर चितवनको सौराहा शाखाको अध्ययन गर्न त्यहाँ पुगेको छ ।

उक्त टोली भोलि काठमाडौं फर्किएर १/२ दिनमै प्रतिवेदन बुझाउने छ ।

कैलाश विकास बैंकले राष्ट्र बैंकलाई डिटेल दियो

उक्त लुटपाट प्रकरणमा कैलाश विकास बैंकका एक कर्मचारीको संलग्नता देखिएको प्रहरीले जनाएको छ । कैलाश विकास बैंक र पानस मनि चेञ्जरको केस भने राष्ट्र बैंकले हेरिरहेको छ ।

‘कृषि विकास बैंकले किटानी जाहेरी दिए लुटपाट प्रकरणमा संलग्न कैलाश विकास बैंकका कर्मचारी पनि पक्राउ गर्छौं,’ अपराध महाशाखाका एसपी थापाले भने, ‘अहिले चाहीँ हामीले आफ्नै तरिकाले अनुसन्धान गरिरहेका छौं ।’

बैंकको मुख्य कार्यालयका एक ग्राहकको संलग्नता देखिएको बैंक स्रोतले जानकारी दियो । ट्राभल एण्ड टुरको व्यवसाय सञ्चालन गर्दै आएका कैलाश विकास बैंकका ती ऋणीको खातामा बैंक लुटपाट प्रकरणमा पक्राउ परेका एक व्यक्तिले १५ लाख रुपैयाँ भएको देखिएको छ ।


पुष्प दुलाल