पूर्वप्रधानमन्त्री माधव नेपाल भन्छन्- जलविद्युत क्षेत्रमा भ्रष्टाचार धेरै भयो, प्रमाण चाहिए दिन सक्छु




काठमाडौं । पूर्वप्रधानमन्त्री माधव कुमार नेपालले जलविद्युत क्षेत्रमा भ्रष्टाचार बढेकाले विद्युत उत्पादन महंगो भएको बताएका छन् ।

राजधानीमा जलविद्युत आयोजनाको अवस्था र लगानीमैत्री वातावरण विषयक अन्तक्रिया कार्यक्रममा नेपाल कम्यूनिष्ट पार्टी नेकपाका वरिष्ठ नेता समेत रहेका नेपालले यस्तो भ्रष्टाचारले बढावा पाउँदा त्यसको मार जनतामा परेको बताए ।

उनले भने, ‘नेता, कर्मचारी, स्थानीय जनप्रनिधि तथा डन जसले भ्रष्टाचार गरे पनि छानबिन पर्छ ।’ भ्रष्ट्राचार भएको प्रमाण चाहिए  दिन समेत सक्ने उनले बताए ।

नेता नेपालले कसैले पैसा खाएको खण्डमा फलानोले पैसा खायो भन्न सक्नुपर्ने बताए । उनले भने, ‘त्यसो नभभएको खण्डमा काम समयमा नहुने र सरकारले गर्नुपर्ने भुक्तानी समयमा हुँदा आयोजना प्रभावित हुन्छ ।’

उनले अहिले निजी क्षेत्रबाट कम मूल्यमा विद्युत उत्पादन भएको र योभन्दा पनि कम मूल्यमा विद्युत उत्पादन गर्ने हो भने भ्रष्टाचार कम गर्नुपर्ने तर्क गरे ।

कार्यक्रममा बैंकर्स संघका अध्यक्ष ज्ञानेन्द्रप्रसाद ढुंगानाले जलविद्युत क्षेत्रमा बैंकहरुले लगानी गर्न नसक्ने अवस्था रहेको बताए ।

उनले भने, ‘अहिलेको अवस्थामा जलविद्युत आयोजनामा लगानी गर्न फिजिबल देखिएन, यो क्षेत्रमा ७०/८० प्रतिशत बैंकहरुको लगानी छ ।’

‘हामीलाई थाहा भएभन्दा धेरै समस्या रहेछन, २/३ प्रतिशत आउटरेज होला भनेर वित्तीय विवरण एनलाइसिस गर्ने गरेका थियौं तर यहाँ २०/२१ प्रतिशत हुने रहेछ’ उनले थपे ।

उनले आफूहरुले अपेक्षा गरेको विषय नदेखिएको बताए । अहिले भएको लगानीलाई कसरी संरक्षण गर्ने भन्ने महत्वपूर्ण रहेको बताए । उनले निक्षेपको ब्याज बढ्दा कर्जाको ब्याज बढेको भन्दै जलविद्युतलाई रि-फाइनान्सीङ गरेको खण्डमा ब्याज बढदैन् ।

उनले यस विषयमा राष्ट्र बैंकसँग नै पहल गर्न विद्युत उत्पादकलाई आग्रह गरे । त्यसो भएको खण्डमा ब्याजदर तलमाथि नहुने बताए । उनले भने, ‘अहिलको समस्या समाधान भनेकै रिफाइनान्सिङ नै हो ।’

अहिले १ पटकभन्दा बढी नहुने र भएपनि ६ महिना मात्रै हुँदा समस्या भएको उनको तर्क छ । ढुंगानाले भने, ‘आयोजना १५ वर्षको छ तर रि–फाइनान्सिङ ६ महिनाको मात्रै छ । अनी कसरी काम गर्न सकिन्छ ?’

अहिले ३० वर्ष पनि जनताको लगानी के हुने भन्ने सबैमा अन्योलता छ । २७ वर्षको कम्पनीको सेयर किन्दा ३ वर्ष पछि के हुने भन्नेमा अन्योतला रहेको बताए ।

कार्यक्रममा बोल्दै विद्युत उत्पादक संघका अध्यक्ष ज्ञानेन्द्रलाल प्रधानले सबैभन्दा बढी भ्रष्टाचार जलविद्युत क्षेत्रमा भएकाले काम गर्न समस्या भएको दाबी गरे ।

उनले भने, ‘अहिले सबैभन्दा बढी भ्रष्टाचार जलविद्युत क्षेत्रमा छ, गुण्डादेखि सांसद, स्थानीय जनतासम्म पैसा बुझाउनुपर्छ, अहिलेको अवस्थामा जलविद्युत क्षेत्रमा हात हाल्नु भनेको घरखेत बेच्न तयार हुनु हो ।’

उनले जलविद्युतमा भ्रष्टाचार बढेको भन्दै आइन्दा आफूले लगानी नगर्ने बताए । उनले अहिलेको बैंक ब्याजदर ६/ ७ प्रतिशतमा नआई काम गर्न नसकिने बताए ।

ब्याजदर बढी भएको कारण पनि काम गर्न समस्या भएकाले ब्याजदर स्थायीत्व बनाउन आग्रह गरे । प्रधानले अहिले निजी क्षेत्रले बनाउने जलविद्युत आयोजना १८/२० करोड रुपैयाँमा बन्ने तर सरकारले बनाउनेमा ३० करोड रुपैयाँभन्दा बढी लागेको प्रति चिन्ता व्यक्त गरे ।


क्लिकमान्डु