प्राधिकरणको २५ प्रतिशत सेयर बेच्ने कुलमानको योजनाः यस्तो छ हिसाब-किताब



काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले आफ्नो कूल चुक्ता पूँजीको २५ प्रतिशत साधारण सेयर बिक्री गर्ने घोषणा गरेको छ । उसले त्यसका लागि एउटा शर्त भने तत्कालका लागि अगाडि सारेको छ । त्यो भनेको सञ्चित मुनापाm घट्नुपर्नेछ । अर्थात, हाल प्राधिकरणको सञ्चित घाटा १५ अर्ब रुपैयाँको हाराहारीमा रहेको छ ।

नाफा बढ्दै गएको अवस्थामा आगामी २ वर्षभित्र प्राधिकरणको सञ्चित घाटा शुन्यमा झरेर पूर्ण रुपमा नाफाको यात्रामा लाग्नेछ । यस्तै प्राधिकरणको वित्तीय अवस्थाको पुनरावलोक तथा पुनः संरचनाको काम समेत यसअघि नै भइसकेको छ । त्यस आधारमा प्राधिकरणले चुक्ता पूँजीको २५ प्रतिशत अर्थात ३१ अर्ब २५ करोड बराबरको साधारण शेयर बिक्री गर्ने जनाएको हो ।

प्राधिकरणको प्रक्षेपणलाई आधार बनाउने हो भने उसले वार्षिक ८ अर्बको हाराहारीमा नाफा कमाउन सक्छ । त्यस आधारमा हेर्दा प्रतिफल भने कम हुन जान्छ । प्रतिफल कम हुने कम्पनीमा के कसरी लगानीकर्ताले लगानी गर्ने आँट गर्लान् भन्ने प्रश्न पनि कायम रहेको छ ।

विगत ३ वर्षदेखि निरन्तर नाफा गर्न थालेको प्राधिकरणले चालु आर्थिक वर्षमा पनि ८ अर्ब बढी रकम नाफा गर्ने लक्ष्य राखेको छ । सोही लक्ष्य पूरा भएको खण्डमा सञ्चित घाटा घटेर ७ अर्बमा सिमित हुने छ । घाटा घट्दै गएपछि प्राधिकरणको नाफामा पनि वृद्धि त होला तर ठूलो परिमाणमा सेयर बिक्री गर्दा त्यसले दिने प्रतिफल के होला भन्ने प्रश्न पनि सँगै आएको छ ।

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ भने प्राधिकरणलाई नाफा गर्ने अब्बल संस्थाको रुपमा विकास गर्ने र उच्च प्रतिफल दिने संस्थाको रुपमा विकास भएरै छाड्ने बताउँछन् । ३ वर्ष पहिले लोडसेडिङको अन्त्य होला, धेरैले नसोचेको प्रतिफल पाइएला भन्नेमा कोही पनि आश्वस्त थिएनन् । धेरैले नपत्याएको काम ३ वर्षको बीचमा भएकाले पनि प्राधिकरणले सेयर बिक्री गर्ने अवस्थामा पुग्दा त्यस्तै अवस्थाको सिर्जना हुने कुलमानको दावी छ ।

ठूलो परिणामा बिक्री गर्न लागिएको सेयरमा प्राधिकरणले नेपालका व्यापारी तथा व्यवसायिक रानालाई पहिलो प्राथमिकतामा राखेको छ । व्यवापारी तथा व्यवसायीक घराना पछि आम सर्वसाधारणलाई सेयर बिक्री गर्ने योजनामा प्राधिकरण छ । तर पछिल्ला दिनमा जलविद्युत् कम्पनीको साधारण सेयर बिक्री हुन छाडेको तथा प्रतिफल समेत असाध्यै न्यून भएका कारणले गर्दा प्राधिकरणको घोषणा व्यवहारिक रुपमा कार्यान्वयन हुन भने गाह्रो पर्ने देखिन्छ ।

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री वर्षमान पुनले समेत यसअघि पटक पटक प्राधिकरणलाई सरकारका सार्वजनिक संस्था मध्ये सबैभन्दा अब्बल बनाएर नागरिकलाई सेयर बिक्री गर्ने घोषणा गरेका छन् । त्यसका लागि प्राधिकरण ऐन र वित्तीय पुनः संरचना योजना अनुसार सर्वसाधारणलाई शेयर बिक्री गर्ने उनको योजना रहेको सुनाएका थिए ।

नेपाल टेलिकमको सेयरले समेत आम लगानीकर्तालाई उच्च प्रतिफल दिन नसकेको सन्दर्भमा प्राधिकरणको सेयरले नागरिकलाई आर्कषित गर्नेमा भने विश्वास गर्न ततकालका लागि गाह्रो पर्ने देखिन्छ ।

उउटा सहज अवस्था भने प्राधिकरणका लागि छ , ३ वर्ष पहिले कुलमान प्राधिकरणको प्रमुख भएर आउनु अघि प्राधिकरणको सञ्चित घाटा बढेर ३२ अर्ब रुपैयाँ पुगेको थियो । उनले त्यो घाटा घटाउँदै लगेका छन् । कानूनी प्रावधान अनुसार सेयर बिक्रीका लागि संस्था कम्तीमा पनि २ वर्षदेखि नाफामा रहेको हुनुपर्छ । तर प्राधिकरणको नाफालाई हेर्दा प्रतिसेयर आम्दानी पनि कम रहेको छ ।

सामान्य हिसाब गर्दा प्राधिकरणले प्रतिसेयर ५ रुपैयाँ ६९ पैसा मात्रै कमाउने देखिन्छ । विद्युत् चुहावट नियन्त्रण , अन्य प्रशासनिक सुधार तथा व्यवसायीक योजना ल्याएको खण्डमा भने प्राधिकरणको नाफा बढ्न सक्छ । त्यो अवस्थामा प्राधिकरणको सेयर बिक्री गर्ने योजनामा भने सफलता मिल्न सक्ने देखिन्छ ।


क्लिकमान्डु