चाइनिज ह्याकरको पैसा साट्ने ३ जना नेपालीलाई प्रहरीले पक्रियो



काठमाडौं । सिस्टम ह्याक गरी एटीएमबाट पैसा चोरी प्रकरणमा प्रहरीले ३ जना नेपालीलाई पक्राउ गरेको छ । महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले सोमबार ठमेल क्षेत्रबाट ३ जना नेपालीलाई नियन्त्रणमा लिएको हो । प्रहरीले चाइनिज ह्याकरहरुसँग नेपालीको पनि संलग्नता हुनसक्ने भन्दै अनुसन्धान गरेको थियो ।

कर्मचारीको चलाखी र प्रहरीको ‘फास्ट एक्सन’ले चाइनिज लुटेरबाट यसरी जोगिए नेपाली बैंक

प्रहरी अनुसन्धानका क्रममा ठमेलमा रहेका डेस्सो र नेपालय मनि चेन्जरका देवनाथ लामिछाने, रोसन प्रधान श्रेष्ठ र रेवती दवाडीलाई पक्राउ गरेको हो ।

चाइनिज लुटेराले ती मनिचेन्जरबाट २९ लाख ९९ हजार रुपैयाँ डलरमा साटेको प्रहरी अनुसन्धानमा देखिएपछि उनीहरुलाई पक्राउ गरिएको महानगरीय प्रहरी परिसरका डिएसपी होविन्द्र बोगटीले क्लिकमाण्डूलाई बताए ।

शुक्रबार नेपाल आएको चिनियाँ ह्याकरहरुको टोलीले शनिबार ५ घन्टामा नेपालका विभिन्न ५ बैंकबाट १ करोड ७६ लाख रुपैयाँ चोरी गरेको थियो । सोही समयमा भारतबाट समेत गरी नेपाली बैंकहरुको कूल ३ करोड ४५ लाख रुपैयाँ चोरी भएको छ ।

सिस्टम ह्याक गरी एटीएमबाट रकम चोर्ने ५ जना चिनियाँलाई प्रहरीले शनिबार पक्राउ गरेको थियो । थप एक जनालाई प्रहरीले आइतबार राति बिमानस्थलबाट पक्राउ गरिसकेको छ ।


पुष्प दुलाल