कर्मचारीको चलाखी र प्रहरीको ‘फास्ट एक्सन’ले चाइनिज लुटेरबाट यसरी जोगिए नेपाली बैंक



काठमाडौं । चीनमा नेपाली बैंक लुट्ने ठूलो योजना बनाएर शुक्रबार काठमाडौं आएको चाइनिज लुटेराको समूहलाई प्रहरीले समयमै पक्राउ गर्दा ठूलो आर्थिक क्षति हुन पाएन ।

नविल बैंकका कर्मचारीको चलाखी, प्रभु बैंकका प्रमुख सञ्चालन अधिकृत दिनेश थकालीको सक्रियता र प्रहरीको ‘फास्ट रेस्पोन्स’का कारण लुटेराहरु पक्राउ परे ।

नविल बैंकको दरबारमार्गस्थित एटीएम बुथमा ३ दिनलाई पुग्ने गरी पैसा राखिएको थियो । तर, एकाएक शनिबार पैसा ह्यात्तै घट्यो । त्यसपछि के भएछ भनेर कर्मचारीहरुले शुक्ष्मरुपमा हेरे । एकैव्यक्तिले विभिन्न बैंकको एटीएम प्रयोग गरेर बारम्बार पैसा निकाल्दै झोलामा हाल्दै गरेको एटीएम बुथमा रहेको सीसी क्यामेरामा देखियो ।

चाइनिज ह्याकरको पैसा साट्ने ३ जना नेपालीलाई प्रहरीले पक्रियो

विदेशी जस्तो देखिने व्यक्तिको यस्तो क्रियाकलाप देखेर बैंकका कर्मचारीलाई शंका लाग्यो । त्यसपछि बैंकका कर्मचारीले नेपाल इलेक्ट्रोनिक पेमेन्ट सिस्टम (नेप्स)लाई उक्त व्यक्तिको शंकास्पद गतिविधिबारे जानकारी गराए । नविल बैंकका कर्मचारीले इमेलमार्फत नेप्सलाई जानकारी गराउने वित्तिकै नेप्सेले प्रभु बैंकलाई जानकारी गरायो ।

नेप्सको यस्तो जानकारी पाउनेवित्तिकै प्रभु बैंकका सीओओ दिनेश थकालीले महानगरीय प्रहरी परिसर टेकुका डीएसपी होविन्द्र बोगटीलाई फोन गरेर तत्काल एक्सन लिइदिन आग्रह गरे । डीएसपी बोगटी र सीओओ थकालीको निकै प्रगाढ सम्बन्ध छ । त्यसैले डीएसपी बोगटीले तत्कालै एक्सन लिए ।

सीसीओ थकालीले शनिबार दिउँसो सवा ४ बजे नेप्सबाट सूचना पाएका थिए । उनले ४ बजेर २४ मिनेट जाँदा डीएसपी बोगटीलाई टेलिफान गरेर जानकारी गराए ।

डीएसपी बोगटी टेकूस्थित महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी उत्तमराज सुवेदीको नेतृत्वमा परिसरका प्रहरी अधिकारीहरु एउटा घटना अनुसन्धानबारे छलफलमा सहभागी थिए ।

सीसीओ थकालीको फोन देखेपछि बोगटीले बैठककै बीच फोन उठाए ।

‘सामान्य सम्बन्ध भएको भए गंभीर विषयमा छलफल गरिरहेका प्रहरी अधिकारीको फोन उठ्ने नै थिएन,’ महानगरीय प्रहरी परिसरका एक इनिस्पेक्टरले क्लिकमाण्डूसँग भने, ‘उहाँहरुबीच छोटो कुराकानी भयो, त्यसबारे डीएसपी साबले एसएसपी साबलाई जानकारी गराउनु भयो, एसएसपी साबले तत्काल एक्सन लिन भन्नुभयो । र, डीएसपी बोगटी प्रहरीको एउटा टोली लिएर दरबारमार्ग हिँडिहाल्यो ।’

नेप्सको सूचना थाहा पाउनेवित्तिकै प्रभु बैंकका सीसीइओ थकाली घटनास्थलतर्फ हिँडिहालेका थिए । उनले बाटैबाट डीएसपी बोगटीलाई जानकारी गराएका थिए ।

प्रहरीको टोलीभन्दा अगाडि नै थकाली दरबारमार्गस्थित नविल बैंकको एटीएम बुथमा पुगिसकेका थिए । नविल बैंकका कर्मचारीको निर्देशनमा सेक्युरीटी गार्डले ती शंकास्पद व्यक्तिलाई समातेर राखेका थिए ।

‘म पुग्दाखेरी नविलका सेक्युरिटी गार्डले ती शंकास्पद व्यक्तिलाई नियन्त्रणमा लिइसकेका थिए,’ थकालीले क्लिकमाण्डूसँग भने, ‘हामी केही मिनेट प्रहरीलाई कुरेर बस्यौं, ४ बजेर ४० मिनेट जाँदा प्रहरी आइपुग्यो । त्यसपछि हामीले ती व्यक्तिलाई प्रहरीको जिम्मा लगायौं ।’

प्रहरीले ती व्यक्तिलाई अंग्रेजीमा सोध्यो । उनले बुझेनन् र जवाफ फर्काएनन् । तर, प्रहरी देखेपछि डरले भयवित भए ।

भाषाको समस्या भइरहेको थियो । त्यतिकैमा याक एण्ड यति होटेलका एक कर्मचारी बाहिरिए । उनले चिनियाँ भाषा पनि जान्दा रहेछन् ।

होटेलका ती कर्मचारीले दोभाषेको काम गरे । चिनियाँ भाषामा होटेलका कर्मचारीले नाम सोधेपछि थाहा भयो कि ती शंकास्पद व्यक्तिको नाम च्यू ल्याङयाङ रहेछ ।

होटेलका कर्मचारीको  कुरा गरे । च्यू बोलेनन् । अकमकाए मात्रै । त्यसपछि प्रहरीले उनको शरीर खानतलासी गर्यो ।

शरीर खानतलासी गर्दा ४५ हजार रुपैयाँ नगद, २० वटा एटीएम कार्ड र माया मनोर बुटिक होटेलका कोठा नम्बर ६०२ र ६०४ को चाबी भेटियो । २० वटा एटीएम कार्ड बरामद गरेपछि शंकास्पद व्यक्ति अपराधी भएको प्रहरीलाई लाग्यो । र, उनलाई लिएर प्रहरीको टोली हात्तिसारस्थित माया मनोर होटेल पुग्यो । सीसीओ थकाली पनि सँगै गए ।

प्रहरीको टोली होटेल पुग्दा ४ जना चिनियाँहरु २ वटा सुटकेस र झोला बोकेर होटेलबाट चेक आउट गरी लिफ्टबाट तल झर्दै थिए । प्रहरीले उनीहरुलाई लिफ्टमै पक्राउ गर्यो ।

अनि सुटकेस र झोला खानतलासी गर्दा नमिलाई कोचकाच पारेर राखेको अवस्थामा १ करोड २६ लाख रुपैयाँ २९ हजार ४५ रुपैयाँ, ८० हङकङ डलर, १ हजार १ सय ९१ चिनियाँ युआन, ९ हजार १ सय ८ अमेरिकी डलर, ५ हजार कम्बोडियाको मुद्रा र २ सय ५० यूरोसहित १ सय ३२ वटा नक्कली भिसाकार्ड, १७ वटा सक्कली भिसाकार्ड, कार्ड प्रिन्टर मेसिन, ६ वटा मोबाइल, ल्यापटप, सामसुङ मोबाइल र डाटा कार्ड बरामद गर्यो ।

कोठा नम्बर १०१ मा रहेका ३ जना चिनियाँ लुटेरा भने भाग्न सफल भएका थिए । प्रहरीले आइतबार पक्राउ परेका पाँचै जना चिनियाँ लुटेरा विरुद्ध बैंकिङ कसुरमा अदालतबाट म्याद थप गरी अनुसन्धान अघि बढाएको छ। पाटन उच्च अदालतले उनीहरूलाई ७ दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ ।

लुटेराहरुलाई प्रहरीले आइतबार दिउँसो २ बजे पत्रकार सम्मेलन गरी सार्वजानिक गरेको थियो । र, प्रहरीले चिनियाँ नागरिकमाथि विशेष निगरानी बढायो ।

होटेलबाट भाग्न सफल भएका अर्का एक लुटेरालाई प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिव बिमानस्थलबाट राति पक्राउ गरेको छ । फ्रान्सको पासपोर्ट बोकेका ३६ वर्षिय चिनियाँ नागरिक सु लुसलीलाई प्रहरीले पक्राउ गरेको हो । उनी राति नै चीन उड्ने तयारीका साथ बिमानस्थल पुगेका थिए ।

बाँकी लुटेराहरुको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ ।

उनीहरु चीनमै नेपाली बैंक लुट्ने योजना बनाएर शुक्रबार नेपाल आएका थिए । शनिबार प्रहरीले चेन बिन बिन, झु लियाङ आङ, क्वियु युङक्विङ, लुओ जिआल्बी र लिन बिनमेङलाई पक्राउ गरेको थियो ।

लुटेराहरुले एटीएम नेटवर्क र नेप्सको डाटा ह्याक गरी ५ घन्टामै ५ वटा नेपाली बैंकको ३ करोड ४५ लाख रुपैयाँ चोरेका छन् ।

ह्याकरहरुले शनिबार दरबारमार्ग र ठमेल क्षेत्रका एटीएम बुथबाट ७०० पटक एटीएम कार्डको प्रयोग गरेर १ करोड ७६ लाख रुपैयाँ र भारतका विभिन्न ठाउँबाट १००० पटक एटीएम कार्डको प्रयोग गरेर १ करोड ५ लाख भारतीय रुपैयाँ चोरी गरेका छन् ।

‘नेपाल र भारतमा गरी १७ सय पटक कार्डको प्रयोग गरेर साढे ३ करोड रुपैयाँ चोरी भएको पाइएको छ,’ राष्ट्र बैंकको भुक्तानी प्रणाली विभागका कार्यकारी निर्देशक बमबहादुर मिश्रले क्लिकमाण्डूसँग भने, ‘नविल बैंकका कर्मचारीहरुको चलाखीका कारण समयमै प्रहरीलाई खबर हुँदा ठूलो क्षति हुन पाएन ।’

२/४ घन्टा मात्रै थाहा नभएको भए अर्ब बढी रकम चोरी हुनसक्ने अनुमान गरिएको छ ।

‘ह्याकरहरुको गिरोह ठूलो संख्यामा चोर परिचालन गरेको देखिन्छ,’ मिश्रले भने, ‘कम्तिमा पनि १०० जनाभन्दा बढी चोर परिचालन भएको अनुमान छ ।’

ह्याकरहरुले प्रभु, एनआइसी एसिया, जनता, ग्लोबल आइएमइ, सनराइज बैंकको एटीएम कार्ड र नबिल, नेपाल एसबिआइ र इन्भेष्टमेन्ट बैंकको एटिएम बुथ प्रयोग गरेका थिए ।

व्यक्तीको खाताबाट पैसा झिकेको पाइएको छैन । बैंकको एटीएम बुथमा रहेको रकम मात्रै चोरी भएको हो ।

‘यो प्रकरणले सर्वसाधारण निक्षेपकर्तालाई कुनैपनि असर पर्दैन,’ राष्ट्र बैंकका प्रवक्ता लक्ष्मीप्रपन्न निरौलाले भने, ‘समयमै थाहा पाएकाले बैंकहरु पनि ठूलो क्षति हुनबाट जोखिएका छन् ।’

यस विषयमा नेपाल प्रहरीले अनुसन्धान गरिरहेको छ भने नेपाल राष्ट्र बैंकले पनि ५ सदस्यी अध्ययन समिति गठन गरिसकेको छ ।

समितिले मंगलबार साँझसम्ममा प्रतिवेदन बुझाउने समितिका संयोजक समेतर रहेका राष्ट्र बैंकको भुक्तनी विभागका कार्यकारी निर्देशक मिश्रले जानकारी दिए ।


पुष्प दुलाल