५६ डिजी सम्मेलन सम्पन्न, चीनले दियो सेफ्टी अडिटपछि उडानको आश्वासन



काठमाडौं – राजधानीमा ५ दिनसम्म चलेको ५६ औं डाइरेक्टर जनरल सिभिल एसोसिएसन एसिया एन्ड प्यासिफिक रिजनको सम्मेलन शनिबार सकिएको छ ।

‘क्षमतताको सीमितता सम्बोधनको लागि साझा प्रयास’ भन्ने नारा सहित अगस्ट १९ देखि २३ तारिखसम्म चल्ने सम्मेलनमा एसिया प्यासिफिक रिजनका ३६ राष्ट्रका डिजीहरु सहभागी थिए ।

सम्मेलनमा चीन र दक्षिण कोरियाले नेपाल वायू सेवा निगमको सेफ्टी अडिट गर्ने र उडानका लागि अनुमति दिने आश्वासन दिएका छन् । त्यस्तै, सम्मेलनमा म्यानमारबाट निर्माणाधिन गौतमबुद्ध विमानस्थलमा उडान गर्नका लागि द्विपक्षीय छलफल समेत भएको छ ।

प्राधिकरणका महानिर्देशक राजन पोखरेलका अनुसार भारतले गौतम बुद्ध विमानस्थलका लागि एयर रुट दिने विषयमा सकारात्मक संकेत दिएको छ ।

सम्मेलनमा नेपालको निजी हवाई कम्पनी हिमालयन एयरलाइन्सलाई चीनले सेफ्टी अडिट गरी चाटर्ड उडान गर्न अनुमति दिइरहेको अवस्था छ । चीनका पदाधिकारीले निगमलाई उडान अनुमति दिने आश्वासन समेत दिएका छन् ।

इन्डिोनेसिया र नेपालबीच हवाई उडान गर्नका लागि गर्नुपर्ने हवाई सम्झौताका लागि दुई देशका पदाधिकारीहरुबीच छलफल समेत भएको छ । त्यस्तै, हवाई उडानका लागि सिंगापुर, फ्रान्स र जापानमा पनि दुई देशका पदाधिकारीबीच हवाई उडानको विषयमा छलफल सकारात्मक भएको पोखरेलले जानकारी दिए ।

अन्तर्राष्ट्रिय नागरिक उड्डयन संघठन (आईकाओ)ले हरेक वर्ष विभिन्न आप्mनो रिजनमा हवाई महानिर्देशकको सम्मेलन गर्दै आएको छ ।

नेपालमा सम्पन्न यो तेस्रो सम्मेलन हो । यसअघि अघि १४ औं सम्मेलन सन् १९७८ र ३४ औं सम्मेलन १९९८ मा नेपालमा आयोजना गरिसकेको प्राधिकरणले जनाएको छ ।

आईकाआले एसिया प्यासिफिक रिजनमा हरेक वर्ष सम्मेलन गदै आएको छ । यस वर्ष नेपालले आयोजना गरेको हो । यसअघि ५५ औं फिजीमा आयोजना भएको थियो भने ५७ औं सम्मेलन बंगलादेशमा आयोजना हुनेछ ।


क्लिकमान्डु