कात्तिक २९ गते महासंघको विशेष साधारणसभा बोलाउने निर्णय, शेखर गोल्छा स्वतः अध्यक्ष बन्लान् ?



काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारीणी बैठकले कात्तिक २९ गते महासंघको विशेष साधारणसभा बोलाउने निर्णय गरेको छ ।

महासंघको शुक्रबार बसेको १३औं कार्यकारीणी बैठकले कात्तिक २९ गते विशेष साधारणसभा बोलाउने निर्णय गरेको महासंघका उपाध्यक्ष किशोस प्रधानले जानकारी दिए ।

‘कार्यकारीणीको बहुमतले विशेष साधारणसभाको मिति तोकेको हो,’ उपाध्यक्ष श्रेष्ठले क्लिकमाण्डूसँग भने ।

महासंघ अध्यक्ष भवानी राणाका अनुसार विधान समितिले बुझाएको प्रतिवेदन सबै सदस्यहरुसँग छलफल गरी सदस्यहरुको राय बुझेर विशेष साधारणसभाको मितिभन्दा १५ दिन अघि कार्यकारीणीले अनुमोदन गर्ने छ ।

‘विधान संशोधन अति संबेदनशील काम हो, त्यसैले बै सदस्यहरुको राय बुझेर सदस्यज्यूहरुको भावनाअनुसार कार्यकारीणी समितिले विधान संशोधनको प्रस्ताव अनुमोदन गरेर मात्रै साधारणसभामा लैजान्छ,’ अध्यक्ष राणाले क्लिकमाण्डूसँग भनिन् ।

विशेष साधारणसभाले महासंघको विधान संसोधन गर्ने कि नगर्ने भन्ने निणर्य गर्छ । अहिलेको विधानअनुसार बरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष हुने व्यवस्था छ ।

पूर्वअध्यक्ष चण्डीराज ढकाल संयोजकत्वको विधान समितिले बरिष्ठ उपाध्यक्षलाई स्वतः अध्यक्ष हुन नदिने र अध्यक्ष पदका लागि निर्वाचन गर्नुपर्ने रायसहितको प्रतिवेदन बुझाइसकेको छ ।

विधान समितिका संयोजक ढकाल विधान संशोधन गरेर बरिष्ठ उपाध्यक्ष शेखर गोल्छालाई अध्यक्ष हुन नदिन लागि परेका छन् । वर्तमान अध्यक्ष भवानी राणालाई बरिष्ठ उपाध्यक्षबाट स्वतः अध्यक्ष बनाउन यसअघि विधान संशोधन गरिएको थियो ।


पुष्प दुलाल