महासंघमा लफडा: चण्डीराजले भवानी राणालाई बुझाएको राजिनामा किशोर प्रधानको खल्तीमा



काठमाडौं । बैंकको ऋण नतिरेर कालोसूचीमा परेका व्यपारी चण्डीराज ढकालले निजी क्षेत्रको छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघमा राज गर्दै आएका थिए ।

महासंघ अध्यक्ष भवानी राणाले साथ नदिएपछि अन्तत ढकाल एक्लिएका छन् ।

साउन १५ गते बुधबार नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारीणी बैठकले आफ्नो एजेण्डा अस्वीकार गरेपछि विधान समितिको संयोजक रहेका ढकालले लिखित राजिनामा बुझाएका हुन् ।

विधान समितिका संयोजक ढकाल आफैले बनाएको विधान मिचेर विधान संसोधन गर्ने पक्षमा थिए । बरिष्ठ उपाध्यक्ष शेखर गोल्छालाई अध्यक्ष बन्न नदिन ढकालले विधान मिचेर विधान संसोधनको प्रस्ताव गरेका थिए ।

तर, महासंघका निवर्तमान अध्यक्ष पशुपति मुरारकाले ढकाललाई र्याखर्याख्ती पारे ।

मुरारकाले बिधान मिच्ने अधिकारी कसैलाई पनि नभएको भन्दै विधानसम्वत अघि बढ्नुपर्ने अडान राखे । मुरारकाको अडानमा अध्यक्ष राणाले सहमति जनाइन् । त्यसपछि ढकालको प्रस्ताव फेल भयो ।

बैठक अनिर्णित बनेपछि मुरारका बैठक छाडेर बाहिरिए । मुरारका बाहिरिएपछि ढकाल पनि बाहिरिए ।

ढकाल पछि फर्किए अनि अध्यक्ष राणालाई राजिनामा बुझाए । राणाले उक्त पत्र पढेर सुनाउन उपाध्यक्ष किशोर प्रधानलाई पत्र दिइन् । प्रधानले पत्र नपढी आफ्नो खल्तीमा हाले ।

‘ढकालको राजिनामाको पत्र किशोर प्रधानको कोटको खल्तीमा छ,’ महासंघका एक पदाधिकारीले क्लिकमाण्डूसँग भने, ‘ढकालजीले लिखित राजिनामा दिनुभएको हो ।’

ढकालको राजिनामा कार्यसमितिले स्वीकृत नगरिसकेकाले महासंघले उनको राजिनामा बारे औपचारिकरुपमा केही पनि भनेको छैन ।

महासंघ बिधानको दफा ६६ को उपदफा १(क) र १(ख) मा विधान संसोधनको प्रस्ताव साधारण सभामा पेश गर्नु अगावै कार्यकारीणी समितिबाट प्रस्तुत हुने संसोधनको प्रस्ताव रायसहित साधारण सभा सुरु हुनुभन्दा ३ महिना अगाडि सदस्यहरु बीच प्रस्तुत गर्नु पर्नेछ भनिएको छ । उपदफा १(ख) मा संसोधन प्रस्ताव ४ महिना अगावै कार्यकारीणी समितिमा छलफलमा ल्याउनु पर्ने उल्लेख छ ।

तर संयोजक ढकालले कार्यसमितिबाट पछि पास गरौंला अहिले विषेश साधारणसभा बोलाऔं भनेर प्रस्ताव गरेका थिए । उनको यो प्रस्तावमा निवर्तमान अध्यक्ष मुरारकाले असहमति जनाउँदै विधानले जे भनेको छ त्यो मात्रै गर्न सकिने बताएका थिए ।

‘केही समय त पूर्वअध्यक्षसमेत रहेका विधान समितिका संयोजक ढकाल र निवर्तमा अध्यक्ष मुरारकाबीच चर्काचर्की नै भयो, उहाँहरुको चर्काचर्की अध्यक्ष राणाले चुपचाप हेर्नुभयो,’ एक पदाधिकारीले भने, ‘पछि अध्यक्ष राणाले विधान मिचेर केही पनि गर्दिन भन्नुभयो, त्यसपछि ढकाल रिसले फायर भएर बाहिरिनुभयो र पछि आएर राजिनामा बुझाउनुभयो ।’


पुष्प दुलाल