तीन गुणा महंगिएको काठमाडौं-दिल्ली भाडा फेरि सस्तियो



काठमाडौं । केही समय अगाडिसम्म महंगो भएको काठमाडौं–दिल्ली रुटको भाडा फेरि सस्तो भएको छ ।

४ महिना अगाडि भारतीय विमान कम्पनी जेट एयरवेज अचानक बन्दपछि यो रुटको भाडा बढ्न थालेको थियो ।

यतिसम्म कि केही दिन अगाडिसम्म मात्रै यस रुटको भाडाा तीन गुणाले महंगो थियो ।
डेढ महिना अगाडिसम्म यस रुटमा ८ देखि १० हजार रुपैयाँमा एकतर्फी टिकट पाइने गरेकोमा भाडा झण्डै तीन गुणाले महंगो हुँदा न्यूनतम नै २० हजार रुपैयाँ पुगेको थियो । भने यात्रुहरुले ६० हजार रुपैयाँसम्ममा दुईतर्फी यात्रा गर्न बाध्य भएका थिए ।

नयाँ दिल्ली जान हवाईजहाजको टिकट नै छैन, डेढ घण्टाको दुरी मलेसियाको बाटो हुँदै, मूल्य १ लाखसम्म

जसले गर्दा साढे १ घण्टाको दूरीका लागि यात्रुहरुले निकै महंगो भाडा तिर्नु परेको थियो । नयाँ दिल्ली जाने टिकट यतीसम्म नपाइने अवस्था थियो कि मलेसिया ट्रान्जिट हुँदै जानुपर्ने स्थिती थियो ।

तर अहिले भाडा सस्तो भएको छ । यस रुटमा चल्ने अन्य विमान कम्पनीहरुले यस रुटमा भाडा घटाउँदा नेपाल एयरलाइन्सले पनि भाडा घटाएको छ । नेपाल वायू सेवा निगमका प्रवक्ता गणेशबहादुर चन्दका अनुसार नेपाल एयरलाइन्सको भाडा समेत निकै कम भएको छ ।

उनले भने, ‘काठमाडौं–दिल्ली रुटका लागि अहिले सस्तो दरका टिकटहरु उपलब्ध गराइरहेका छौं, प्रतिष्पर्धी बजारमा जाँदा भाडा कम भएको हो ।’ उनका अनुसार अहिले नेपाल एयरलाइन्सले सातामा ३ दिन दैनिक ३ उडान र ४ दिन दैनिक २ वटा उडान गरिरहेको छ ।

अहिले काठमाडौ–दिल्लीका रुटमा नेपाल एयरलाइन्सले न्यूनतम ८ हजार २६२ रुपैयाँ एकतर्फी भाडादर तोकेको छ । भने इन्डिगोले ९ हजार ४१५ रुपैयाँमा एकतर्फी भाडा कायम गरेको छ । त्यस्तै, यस रुटमा चल्ने अन्य एयरलाइन्सहरुले पनि भाडा घटाएका छन् ।

बजेट एयरलाइन्सका रुपमा चिनिएको इन्डिगो एयरलाइन्सले पनि भाडा सस्तो गरेपछि अन्य कम्पनीको भाडा पनि निकै कम भएको हो ।

जेट एयरलाइन्स बन्द हुँदा सोल्टी होटलको कति डुब्यो ? विमानस्थलले समेत पैसा लिन बाँकी

छिमेकी मुलुक भारतको राजधानी नयाँ दिल्ली र काठमाडौंमा छोटो रुट हो । चार महिना अगाडि भारतीय विमान कम्पनी जेट एयरवेजको सञ्चालन बन्द भएसँगै अन्य कम्पनीहरुले अस्वभाविक रुपमा भाडा बढाएका थिए ।

भाडा बढ्नुमा अर्को कारण पाकिस्तानले आफ्नो आकाश प्रयोगमा विदेशी विमानहरुलाई प्रतिबन्ध लगाउनु समेत थियो । पाकिस्तानले भारतसँग विवादका कारण गत फेब्रुअरी महिनामा आफ्नो भूमि माथिको आकाशमा विमान उड्न प्रतिबन्ध लगाएसँगै यसको भाडा महंगो भएको थियो ।

नेपाल वायू सेवा निगमका अनुसार खाडी मुलुक तथा पश्चिमा मुलुक जाने नेपाल एयरलाइन्सले पाकिस्तानको आकाश छलेर अरब समुन्द्रको बाटोबाट उडान भन्दा ३ टन इन्धन बढी खपत भएको थियो । जसको मूल्य नै ३ लाख बढी थपिएको थियो । नेपाल एयरलाइन्सले टिकटको दर नबढाए पनि सस्तो दरका टिकटको बिक्री भने रोकेको थियो । त्यस्तै, भारतीय कम्पनीहरुले पनि ठूलो घाटा बेहोरेका थिए ।


क्लिकमान्डु