मर्जरमा जाँदा ११ जना सञ्चालक राख्न दिनुपर्यो भन्ने माग पूरा गर्न सकिँदैन: राष्ट्र बैंक



काठमाडौं । मर्जरमा जाने संस्थाको सञ्चालक समितिको संख्या बढाउनुपर्ने भन्ने बैंकर्स संघको माग पूरा नहुने भएको छ ।

वाणिज्य बैंकहरुको छाता संगठन बैंकर्स संघले असार १७ गते मर्जर तथा एक्वायरका सम्बन्धमा पठाएको ६ बुँदे मागपत्रमा मर्जरमा जाने संस्थाको सञ्चालक समितिको संख्या बढाएर ११ जना पुर्याउनु पर्ने माग गरेको थियो ।

मर्जरमा जान बैंकर्स संघको दर्जन मागः बोर्डको संख्या बढाउ, सीइओको कुलिङ पिरियड हटाउ, अरु के के ?

मागपत्रको ३ नम्बर बुँदामा भनिएको छ ‘मर्जर/एक्विजिशन पश्चात सञ्चालक समितिमा समन्वय मिलाउनका लागि सञ्चालक समितिको संख्या बढाएर कम्पनी ऐन बमोजिम ११ जना राख्न पाउने तथा ती सञ्चालकहरुलाई बैंकको अर्को साधारणसभा नभएसम्म निरन्तरता दिन पाउनु पर्ने ।’

राष्ट्र बैंकका उच्च अधिकारीहरुका अनुसार बैंकर्स संघको यो माग राष्ट्र बैंकले पूरा गर्न सक्दैन । उक्त माग पूरा गर्न बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन-२०७३ लाई संसोधन गर्नुपर्ने हुन्छ । राष्ट्र बैंकले बाफियाको संसोधन प्रस्ताब ७/८ महिना अघि नै अर्थ मन्त्रालयमा पठाइसकेको छ ।

विद्यमान बाफियामा बैंक सञ्चालक समितिमा ७ जना मात्रै रहन पाउने व्यवस्था छ ।

‘११ जनाको सञ्चालक समिति बनाउने माग पूरा गर्न सकिँदैन,’ राष्ट्र बैंक उच्च स्रोतले क्लिकमाण्डूसँग भन्यो, ‘पहिलो कुरा सञ्चालकहरुको भीड जम्मा गरेर बैंकको प्रगति हुँदैन, दोस्रो कुरा यो राष्ट्र बैंकले गर्नै सक्दैन ।’

बाफिया संसोधन राष्ट्र बैंक, अर्थ मन्त्रालय, कानून मन्त्रालय, संसदीय समिति र संसदको पूर्ण सदनले पारित गनुपर्छ ।

‘बाफिया नै संसोधन गरेर बैंकमा सञ्चालकहरुको भीड गराउने पक्षमा हामी छैनौं,’ स्रोतले भन्यो, ‘संघका अरु धेरै मागहरु पूरा गर्न सकिन्छ, यो माग व्यवहारिक छैन ।’

बैंकर्स संघका अध्यक्ष ज्ञानेन्द्र ढुंगाना भने सञ्चालकहरुबाटै मर्जरमा अबरोध उत्पन्न हुनसक्ने भएकाले त्यस्तो अवरोधको अन्त्य गर्न ११ जनाको सञ्चालक समिति बनाउनुपर्ने माग गरिएको बताए ।

‘कतिपय अवस्थामा सञ्चालहरुले आफ्नो पद गुम्ने भएकाले मर्जरमा जान खोज्दैनन्,’ अध्यक्ष ढुंगानाले भने, ‘राष्ट्र बैंकको मर्जर नीतिलाई सहयोग पुगोस् भनेर नै हामीले सञ्चालक समितिको संख्या बढाउन माग गरेका हौं, हाम्रो माग पूरा भए राष्ट्र बैंकको नीति कार्यान्वयन बढी प्रभावकारी हुन्छ ।’


पुष्प दुलाल