अध्ययन नभएका आयोजनामा बजेटः अर्थमन्त्री अडानमा रहलान् कि दबाबका सामु झुक्लान् ?

119
Shares

काठमाडौं । सरकारले आगामी आर्थिक वर्षको बजेट तयारीलाई करिब करिब अन्तिम चरणमा पुर्याएको छ । अर्थमन्त्री डा युवराज खतिवडालगायत अर्थ मन्त्रालयका कर्मचारी ढोका थुनेर नै बजेट निर्माणमा लागेका छन् ।

सरकारले आगामी आर्थिक वर्षको बजेटमा अध्ययन नभएका आयोजनालाई बजेट व्यवस्था नगर्ने बताएको छ । अर्थमन्त्रीले पनि सोही विषयमा पटक पटक आफ्ना धारणा सार्वजनिक गर्दै आएका छन् ।

विगतमा अध्ययन नभएका आयोजनालाई समेत बजेट विनियोजन हुने गरेको थियो । अध्ययन नभएका भएपनि बजेट राखेर आयोजनाको नाम प्रचार गराउने काम नेताहरुले गर्दै आएका थिए ।

तर आगामी आवको बजेटमा भने अध्ययन नभएका आयोजनालाई बजेट दिइदैन भनिएपनि अर्थमन्त्रीलाई अन्तिम समयसम्म पनि दबाव दिइदै आएको छ ।

सत्तारुढ दलका नेता तथा सांसदहरुले नै अध्ययन नभएका आयोजनालाई बजेट दिन र राखिदिन दबाव दिएका छन् । उनीहरुले जसरी भएपनि राजनीतिक स्वार्थका लागि अध्ययन नभएका आयोजनामा बजेट राख्न लगाउने तयारी गरेका छन् ।

अर्थमन्त्री आफ्नो अडानमा रहलान् वा दबावको भरमा अध्धयन नै नभएका आयोजनामा बजेट राख्लान् त्यो भने हेर्न बाँकी रहेको छ ।

अध्ययन नै नभएका आयोजनामा बजेट राख्दा बजेट खर्च नहुने र पूँजीगत खर्च नै नहुने अवस्थाको अन्तयका लागि त्यस्तो प्रयास गर्न लागिएको हो ।

तर दबावका भरमा बजेट पार्न गरिने प्रयासलाई कमजोर बनाउन पनि अर्थमन्त्रीले आफ्नै घोषणामा प्रतिवद्ध रहनुपर्ने देखिएको छ ।

विगतमा दर्जनौ सडक आयोजना, सिंचाई आयोजना र अन्य भौतिक पूर्वाधारका योजना अध्ययन नगरीकन बजेट विनियोजन गर्दा समस्या आएको भन्दै यस पटक त्यस्तो प्रवृत्तिको अन्तय गर्न लागिएको बताइन्छ ।

तर दबावका आधारमा अध्ययन नै नभएका आयोजनामा बजेट विनियोजन भए पूँजीगत खर्चको अवस्था आगामी दिनमा पनि उस्तै रहनेछ ।