बाफियाको संसोधनमा बैंकर र व्यवसायी छुट्याउने प्रस्ताव, बल अर्थमन्त्रीको कोटमा



काठमाडौं । बैंकर र व्यवसायी छुट्याउने प्रक्रिया फेरि शुरु भएको छ । नेपाल राष्ट्र बैंकले राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्था सम्बन्धि ऐन (बाफिया) को संशोधनमा बैंकर र व्यवसायी छुट्याउने प्रस्ताब गरेको छ ।

एकै व्यक्ति बैंकर र व्यवसायी हुँदा संस्थागत शुसाशनमा विकृति देखिएको भन्दै राष्ट्र बैंकले बैंकर र व्यवसायी छुट्याउने प्रस्ताव गरेको हो ।

‘राष्ट्र बैंकले गरेको अध्ययनमा एकै व्यक्ति व्यवसायी र बैंकर हुँदा संस्थागत सुशासनमा समस्या देखियो,’ राष्ट्र बैंक स्रोतले क्लिकमाण्डूसँग भन्यो, ‘त्यसैले बैंकर र व्यवसयी छुट्याउने प्रस्ताव गरेका हौं ।’

स्रोतका अनुसार कुनै व्यवसायीले आफ्नो १० प्रतिशत वा सोभन्दा माथि सेयर स्वामित्व रहेको उद्योगमा बैंकबाट ऋण लिएर लगानी गरेको छ भने त्यस्तो व्यवसायी बैंक तथा वित्तीय संस्थाको सञ्चालक बस्न नपाउने प्रस्ताव गरिएको छ ।

राष्ट्र बैंकको यस्तो प्रस्तावलाई उद्योगी/व्यवसायीहरुले भने बिरोध गर्दै आएका छन् । व्यवसायीहरुले बैंकबाट ऋण नलिई व्यवसाय सञ्चालन गर्न नसक्ने र बैंकमा लगानी हुँदाहुँदै पनि सञ्चालक बस्न नपाइने भएको भन्दै विरोध गरेका हुन् ।

‘यदि यस्तो व्यवस्था गर्न गरिएको प्रस्तावलाई संसदले पारित गर्यो भने बैंक तथा वित्तीय संस्थामा सञ्चालक रहेका अधिकांश व्यवसायीले ‘खेतला’ सञ्चालक खोज्नुपर्ने हुन्छ,’ एक वाणिज्य बैंकका सञ्चालक समेत रहेका व्यवसायीले क्लिकमाण्डूसँग भने ।

आफ्नो समपत्तिको सुरक्षा गर्न खेतला सञ्चालक खोज्नुपर्ने अवस्थाको विरोध गर्नु आफूहरुको धर्म भएको उनले बताए ।

यसअघि डा. युवराज खतिवडा अर्थमन्त्री हुँदा पनि बैंक र व्यवसायी छुट्याउने भन्दै बाफियामा प्रस्ताव गरिएको थियो । तर, संसदले त्यसलाई हटाइदियो ।

गभर्नर हुँदा धेरै सार्वजानिक ठाउँहरुमा खतिवडाले बैंकर र व्यवसायी छुट्याउने बताउँदै आएका थिए ।

तर, उनै खतिवडा अहिले अर्थमन्त्री छन् । सरकार पनि दुईतिहाइको छ । गभर्नर हुँदै आफूले गर्न चाहेको कुरालाई खतिवडाले आफू सरकारमा भएका बेला बैंकर र व्यवसायी छुट्याउने बाफियाको संसोधन पारित गराउन सक्ने धेरैको अनुमान छ ।

तर, त्यसका लागि अर्थमन्त्री खतिवडाले व्यवसायीहरु र व्यवसायी संसदहरुको दबाब भने थेग्न सक्नुपर्ने हुन्छ ।


पुष्प दुलाल