एनआइसी एशियाको प्रगति: १६४%ले नाफा बढाउँदै ६ महिनामै १५१ करोड कमायो
काठमाडौं । डेढ वर्षदेखि निकै आक्रम भएर अघि बढेको एनआइसी एशिया बैंकले लोभलाग्दो प्रगति गरेको छ । बैंकले बुधबार सार्वजानिक गरेको चालू आर्थिक वर्षको ६ महिना अर्थात् पुस मसान्तको अपरिस्कृत वित्तीय विवरणमा गत वर्षको यसै अवधिको तुलनामा १६४ प्रतिशतले नाफा बढाएको उल्लेख छ ।
गत वर्षको पुस मसान्तमा ५७ करोड रुपैयाँ कमाएको बैंकले यो पुसमा १ अर्ब ५१ करोड रुपैयाँ खुद नाफा कमाएको हो ।
एक वर्षको अवधिमा बैंकको वासलातको आकार ५३ प्रतिशत अर्थात् ७४ अर्ब रुपैयाँले बढेर २ खर्ब १४ अर्ब पुगेको छ ।
एक वर्षको अवधिमा बैंकले ५५ अर्ब रुपैयाँले निक्षेप बढाउँदै यो पुस मसान्तमा कुल निक्षेप १ खर्ब ७५ अर्ब ७६ करोड रुपैयाँ पुर्याएको छ । प्रतिशतमा हेर्दा निक्षेपको वृद्धि ४६ प्रतिशतले हो ।
त्यस्तै, ४८ अर्ब रुपैयाँले कर्जा बढाएर १ खर्ब ४९ अर्ब ३ करोड रुपैयाँ पुर्याएको छ । कर्जाको वृद्धिदर प्रतिशतमा हेर्दा ४८ प्रतिशतले बढेको हो ।
यो वृद्धि नेपाली बैंकिङ ईतिहासमा कुनै पनि बैंकले वार्षिक विन्दुगत आधारमा हासिल गरेको वृद्धिका हिसाबले हाल सम्मकै उच्च भएको बैंकको दाबी छ ।
बैंकले देशभर २ सय ७३ शाखा, २ सय ८९ एटिएम, ३७ वटा एक्सटेन्सन काउण्टर र २२ वटा शाखारहित बैंकिङ्ग ईकाई मार्फत बैंकिङ सेवा प्रदान गर्दै आएको छ । हालसम्म बैंकमा ग्राहकको संख्या करिब १४ लाख ५० हजार रहेको छ ।