नेपालको उर्जा क्षेत्रमा लगानी गर्न अमेरिकाले इच्छा देखायो



काठमाडौं । उर्जा, जलस्रोत तथा सिंचाईमन्त्री वर्षमान पुन र अमेरिकी राजदूत रेण्डी डब्लु बेरीबीच भेटवार्ता भएको छ । सिंहदरवास्थित उर्जामन्त्रालयमा बिहिबार भएको शिष्टाचार भेटवार्तामा द्धिपक्षिय हितका साथै उर्जा क्षेत्रमा गर्न सकिने सहकार्यका विषयमा छलफल भएको थियो ।

भेटमा उर्जामन्त्री पुनले नेपालमा संविधान निर्माण र शान्ति प्रक्रिया सफलतापुर्वक सम्पन्न भएको भन्दै हाल देशमा स्थिर सरकार भएकाले लगानीको लागी उपयुक्त वातावरण भएको बताए ।

मन्त्री पुनले नेपाल र अमेरिकाबीच न्यानो सम्बन्ध रहेको भन्दै अमेरिकाले नेपालको विभिन्न क्षेत्रमा गर्दै आएको सहयोगप्रती धन्यवाद व्यक्त गरे ।

मन्त्री पुन र राजदूत बेरीबीच मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसिसी) परियोजनाको तयारीको विषयमा समेत छलफल भएको थियो । भेटमा उर्जामन्त्री पुनले एमसिसी परियोजना निर्धारित समयभित्रै पुरा गर्ने गरी सरकारले तयारी गरिरहेको बताए ।

आर्थिक विकासको गतिको आधारमा उर्जामन्त्रालयले उर्जा क्षेत्रको स्वेतपत्र जारी गरेको भन्दै मन्त्री पुनले नेपाललाई १० वर्षमा १५ हजार मेगावाट विजुली आवश्यक हुने जानकारी दिए । उनले आफु उर्जामन्त्रीको रुपमा कार्यभार सम्हालेसंगै प्रशारण लाइनको गुरुयोजना सार्वजनिक गरेको समेत बताए ।

मन्त्री पुनले वर्तमान सरकारको प्राथमिकता लगानी र आर्थीक विकास रहेको भन्दै त्यसका लागी नेपाललाई लगानी आवश्यक हुने भएकालेअमेरिकन लगानीकर्तालाई नेपालमा लगानीको लागी वातावरण बनाईदिन समेत उनले आग्रह गरे ।

भेटमा अमेरिकी राजदूत बेरीले नेपालको उर्जा क्षेत्रमा साझेदारी गर्न अमेरिका ईच्छुक रहेको धारणा राखे । उनले एमसिसी परियोजनाबारे उर्जा मन्त्रालयको प्राथमिकताबारे चासो राखेका थिए । राजदूत बेरीले परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीको अमेरिका भ्रमणमा अमेरिकी विदेशमन्त्री माइक पम्पेसंग एमसिसी परियोजनालाई अघि बढाउने विषयमा महत्वपुर्ण छलफल भएको जानकारी समेत दिए ।

‘एमसीसी परियोजनामा साझेदारीका लागी धन्यवाद दिन चाहन्छौै, यसको कार्यान्वयनपछि नेपालमा भौतिक पुर्वाधारणको विकास हुनेछ , त्यसका लागि आगामी दिनमा समेत हामी नेपालको उर्जा क्षेत्रमा सहकार्य गर्न चाहन्छौ,’ उर्जामन्त्री पुनसंगको भेटमा राजदूत बेरीले भने ।


पुष्प दुलाल