सिइओ पाए बीमा कम्पनीले, अब ५ कम्पनीमा मात्रै खाली




काठमाडौं । कुनै समय प्रमुख कार्यकारी अधिकृत (सिइओ) नेपाएर हैरान भएका बीमा कम्पनीहरुले सिइओ पाउन थालेका छन् । अधिकांश कम्पनीले कामु सिइओ र महाप्रबन्धकलाई सिइओ बनाएका छन् भने केही कम्पनीले नयाँ सिइओ भित्र्याएका छन् ।

अहिले संचालनमा रहेकामध्ये ५ बीमा कम्पनीमा प्रमुख कार्यकारी अधिकृत (सिइओ) नियुक्त हुन सकेको छैन । संचालनमा रहेका ३८ कम्पनीमध्ये अरुले सिइओ नियुक्त गरिसकेका छन् ।

अझै पनि ज्योति लाइफ, सन नेपाल, प्रभु लाइफ, सानिमा लाइफ र जनरल इन्स्योरेन्स कम्पनीले सिइओ नियुक्त गर्न सकेका छैनन् ।

लामो समयदेखि सिइओ खाली रहेको नेसनल लाइफ इन्स्योरेन्स कम्पनीले महाप्रबन्धकको जिम्मेवारीमा रहेका भरत बस्नेतलाई नै सिइओको जिम्मेवारी दिएको छ ।

यस्तै कामु सिइओ रहेका योगशभक्त बादे श्रेष्ठलाई आइएइ जनरलले सिइओ बनाएको छ । अभिजित घोषले कामु सिइओको रुपमा चलाएको लाइफ इन्स्योरेन्स कर्पाेरेसन (नेपाल) ले नयाँ सिइओ नियुक्तीको प्रक्रिया अगाडि बढाएर स्वीकृतिका लागि बीमा समिति पठाएको छ ।

यस्तै सिइओ खाली रहेको एनएलजी इन्स्योरेन्सले काम सिइओ सुनिलबल्लभ पन्तलाई नै सिइओ बनाएको छ । सिद्धार्थ इन्स्योरेन्समा कामु सिइओकै रुपमा काम गरिरहेका बीरेन्द्र बैदवारले सिइओको जिम्मेवारी पाएका छन् ।

एशियन लाइफ इन्स्योरेन्स कम्पनीले पनि प्रबन्ध निर्देशक (एमडी) राजेश कुमार श्रेष्ठलाई सिइओ बनाइ सकेको छ ।

आइएमइ लाइफ इन्स्यारेन्स कम्पनीले सिइओको रुपमा श्रीचन्द्र भट्टलाई भित्र्याएको छ । सानिमा जनरलत इन्स्योरेन्सले भने महाप्रबन्धक सुबोधलाल श्रेष्ठलाई नै सिइओको जिम्मेवारी दिएको छ ।

बीमा समितिले कम्पनीहरुलाई तत्काल सिइओ नियुक्त गर्न दबाब दिइरहेको छ ।


क्लिकमान्डु