भारतमा बन्धक बनाइएका नौ नेपाली महिलाको उद्धार



काठमाडौ । खाडी मुलुक लैजाने भन्दै भारतमा बन्दक बनाएर राखिएका नौ जना नेपाली महिलाको उद्धार गरिएको छ । उनीहरुलाई नयाँ दिल्लीस्थित पहाडगञ्जको रिङ्गो होटलमा महीनौदेखि राखिएको थियो ।

वैदेशिक रोजगारीको प्रलोभनमा उनीहरुलाई सात महीनादेखि बन्धक बनाएर राखिएको थियो ।  कपिलवस्तुको कृष्णनगर नाकाबाट उनीहरुलाई स्वदेश फिर्ता गरिएको हो । उद्धार हुनेमा रसुवा, सुनसरी, मोरङ, दाङ, पाल्पा, रुपन्देही र बागलुङका महिलाको छन ।
केआई नेपालको प्रयासमा बिहीबार महिलाको उद्धार गरी परिवारमा पुनर्मिलन गराइएको छ । नेपालको सुनौली तथा काँकडभिट्टा सीमा नाकाको प्रयोग गरी सामान किन्न तथा घुम्न जाने भनी झुटो बोल्न लगाई सीमापार गराइएको उनीहरुले बताएका छन ।

भारतमा लगेपछि भारतीय दलालले होटलको एक कोठामा राखी बन्धक बनाएको थियो । केआई नेपाल दिल्लीस्थित प्रतिनिधि नवीन जोशीले दिएको जानकारीअनुसार विभिन्न सात जिल्लाबाट फरकफरक व्यक्तिसँगको सम्पर्कको माध्यमबाट वैदेशिक रोजगारीका लागि ती महिला भारत पुगेका पाइएको छ ।


पुष्प दुलाल