संसदको हिउँदे अधिवेशन आजदेखि शुरू हुँदै



काठमाडौँ ः सङ्घीय संसद्का दुवै सदन -प्रतिनिधिसभा र राष्ट्रियसभाको तेस्रो अधिवेशन आजदेखि शुरु हुँदैछ । राष्ट्रपति विद्यादेवी भण्डारीले संसद् भवन नयाँ बानेश्वरमा अपराह्न ४ बजे प्रारम्भ हुने गरी सङ्घीय संसद्को दुवै सदनको अधिवेशन आह्वान गरेकी हुन ।

विधेयकमाथि छलफल र पारित गर्ने विषयमा  संसद्को यो अधिवेशन केन्द्रित रहने बताइएको छ । सामान्यतया संसद्को हिउँदे अधिवेशनलाई विधेयक अधिवेशनका रुपमा लिने गरिन्छ । आगामी फागुन २१ गते अर्थात (सङ्घीय संसद्को पहिलो बैठक बसेको एक वर्षभित्र) नेपालको संविधानसँग बाझिने कानून संशोधन गरेर संविधानसम्मत बनाई सक्नुपर्ने कार्यभार रहेको हुँदा यो अधिवेशन निकै महत्वपूर्ण रहने छ ।

प्रतिनिधिसभा, कार्यव्यवस्था परामर्श समितिले हिउँदे अधिवेशनको पहिलो दिन बुधबार नै दुई वटा बैठक राख्ने सम्भावित कार्यसूची तय गरेको छ ।

पहिलो बैठकमा राष्ट्रपति कार्यालयबाट अधिवेशन आह्वानसम्बन्धी पत्रको व्यहोरा सभामुख कृष्णबहादुर महराले पढेर सुनाउनु  र त्यसपछि अधिवेशन प्रारम्भको अवसरमा दलीय आधारमा सङ्घीय संसद्मा प्रतिनिधित्व गर्ने पार्टीका नेताहरूले मन्तव्य दिनेछन । मन्तव्यपछि  सदनमा प्रशासकीय अदालत विधेयक, २०७५ का सम्बन्धमा राष्ट्रियसभाबाट प्राप्त सन्देशसहितको विधेयक टेबुल गरिने संसद् सचिवालयले जानकारी दिएकाे छ ।  सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले कर्मचारी समायोजन अध्यादेश २०७५ पेश गर्नेछन  ।

प्रतिनिधिसभाको आजै बस्ने बुधबारको दोस्रो बैठकमा संसद्का पूर्वसदस्य चक्रप्रसाद बाँस्तोला, पद्मरत्न तुलाधार र मोतिदेवी चौधरीको निधनमा शोक प्रस्ताव प्रस्तुत गरी पारित गरिने सम्भावित कार्यसूची तय गरिएको  छ ।

त्यस्तै राष्ट्रियसभामा भने राष्ट्रपति कार्यालयबाट प्राप्त पत्र वाचन, विभिन्न राजनीतिक दलका नेताबाट शुभकामना मन्तव्य, कर्मचारी समायोजन अध्यादेश प्रस्तुत हुने र बैठकको अन्त्यमा पूर्वसांसद बाँस्तोला, तुलाधर र चौधरीको निधन भएकामा शोक प्रस्ताव प्रस्तुत गरी पारित गर्ने कार्यसूची तय भएको छ ।


पुष्प दुलाल