ब्याजदर बृद्धि नरोकेमा कर्जामा ब्याजदरको सिलिङ तोक्ने राष्ट्र बैंकको तयारी



काठमाडौं । वाणिज्य बैंक नै निक्षेप तान्नको लागि अस्वस्थ प्रतिस्पर्धामा उत्रेपछि यसलाई नरोकेमा राष्ट्र बैंकले कर्जाको ब्याजदरमा सिलिङ तोक्ने तयारी गरेको छ ।

राष्ट्र बैंकका डेपुटी गभर्नर शिवराज श्रेष्ठले बुधवार अर्थमन्त्री डा युवराज खतिवडालाई बुझाएको सुझावमा प्राथमिकता प्राप्त कर्जामा बैंकले आधारदरको २ प्रतिशतभन्दा बढी ब्याजदर लिन नपाउने सुझाव उल्लेख छ ।

राष्ट्र बैंकका डेपुटी गभर्नर शिवराज श्रेष्ठले प्राथमिकता प्राप्त कर्जामा आधारदरमा २ प्रतिशतभन्दा बढी ब्याजदर लिन नपाउने व्यवस्था लागु गर्न सकिने जानकारी दिए ।

‘बैंकहरु ब्याजदर बृद्धिको खेलमा लाग्दैनन् भन्ने हाम्रो अनुमान हो,त्यो भएन भने नीतिगत रुपमा हस्तक्षेप हुन्छ,’श्रेष्ठले भने ।

राष्ट्र बैंकले ब्याजदरमा स्थाईत्व दिनको लागि आज २८ वटा वाणिज्य बैंकका सिइओहरुलाई सामुहिक रुपमा नै राष्ट्र बैंकमा बोलाएको छ । यसमा भद्र सहमतिको लागि बैकर्स संघले निर्णय गर्ने बुझिएको छ ।

कार्यदलले बचत खाताको ब्याजदर मुद्रास्फितीभन्दा बढी हुन नहुँने सुझाव दिएको छ । अहिले बचत खातामा ७ प्रतिशत ब्याजदर बैंकले दिएका छन् ।


क्लिकमान्डु