नेपाल र कतारबीच दुई समझदारी पत्रमा हस्ताक्षर
कतार । नेपाल र कतारबीच सहमति र समझदारी सम्बन्धी छुट्टाछुट्टै दुई पत्रमा हस्ताक्षर भएको छ ।
राष्ट्रपति विद्यादेवी भण्डारीको कतार भ्रमणको दोस्रो दिन उक्त पत्रहरूमा हस्ताक्षर भएको हो । नेपाल र कतारबीच कूटनीतिक, सरकारी र विशेष राहादानी बाहकलाई प्रवेशआज्ञाविना आवाजजावतको सहजीकरण गर्ने विषयमा सहमति भएको छ।
सो सहमतिपत्रमा नेपालकातर्फबाट परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली र कतारका तर्फबाट उपप्रधान तथा विदेश मन्त्री शेख मोहम्मद अब्दुल रहमान अल थानीले हस्ताक्षर गरेका छन् ।
त्यसैगरी कृषि तथा खाद्य सुरक्षामा दुई देशबीच सहयोग आदानप्रदान सम्बन्धी अर्को समझदारीपत्रमा हस्ताक्षर भएको छ ।
सो समझदारीपत्रमा नेपालकातर्फबाट परराष्ट्रमन्त्री ज्ञवाली र कतारका तर्फबाट वातावरण तथा नगरपालिका सम्बन्धी मन्त्री मोहम्मद बिल अब्दुल्ला अलले हस्ताक्षर गरेका छन् ।
परराष्ट्र मन्त्री ज्ञवालीले उक्त सहमतिबाट दुई देशबीचको सम्बन्ध, सहयोग र सहकार्य अझ फराकिलो हुने विश्वाश व्यक्त गरे ।
राष्ट्रपति भण्डारी दिवाभोजमा सरिक
यसैबीच, राष्ट्रपति विद्यादेवी भण्डारी कतारका अमिर शेख तमिम बीन हमाद अल थानीले आज आयोजना गर्नुभएको दिवाभोजमा सरिक भएकी छन् ।
कतारी अमिर अल थानीले राष्ट्रपति भण्डारीको स्वागतमा अमिरी दिवानमा दिवाभोजको आयोजना गरेका हुन् ।
मित्र राष्ट्र अमिर अल थानीको मैत्रीपूर्ण निमन्त्रणामा एक प्रतिनिधिमण्डलको नेतृत्व गर्दै राष्ट्रपति भण्डारी सोमबारदेखि चारदिने कतार भ्रमणमा रहेकी छन् ।रासस