प्रधानमन्त्री ओलीको स्वास्थ्यमा सुधार, चिकित्सक भन्छन्- मौसमी ज्वरो आएको हो



काठमाण्डौ । प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा सुधार आएको छ । प्रधानमन्त्रीका निजी चिकित्सशक डा. दिलिप शर्माका अनुसार केही दिनदेखि मौसमी ज्वरो आएको र शुक्रवार साँझबाट एन्टिबायोटिक चलाइएपछि प्रधानमन्त्री ओलीको स्वास्थ्यमा सुधार आएको हो ।

‘प्रधानमन्त्रीज्यूलाई दुई तीन दिनदेखि मौसमी रुघाखोकी र हल्का ज्वरो आएकोले बैठक, भेटघाट नगर्न र भीडभाडमा नगई आराम गर्न सुझाव दिइएको हो, सोही कारण निकै भिडभाड हुने भएकाले हिजोको चियापानमा नजान सुझाव दिएको थियौं,’ डा. शर्माले भने ।

डाक्टर शर्माले प्रधानमन्त्रीमा बाहिर चर्चा भएजस्तो छातीमा संक्रमण नरहेको र स्वास्थ्यमा सुधार भइरहेको बताए ।

यसैबीच, विश्वभ्रमणका क्रममा नेपाल ल्याइएको आईसीसी विश्वकप क्रिकेटको ट्रफी प्रधानमन्त्री केपी शर्मा ओलीले सार्वजनिक गर्ने कार्यक्रम रद्द भएको छ ।

अस्वस्थ भएपछि प्रधानमन्त्रीले ट्रफी सार्वजनिक गर्ने कार्यक्रम रद्ध भएको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ । यता, उनी अस्वस्थ भएकै कारण आइतबार बिहान बस्ने भनिएको मन्त्री परिषद्को बैठक पनि स्थगित भएको छ, बैठक दिउँसो बस्न सक्ने बताइएको छ ।


क्लिकमान्डु