प्रधानमन्त्री ओली भन्छन्- समृद्धिको पहिलो आधार शान्तिसुरक्षा
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले समृद्ध मुलुक निर्माणको पहिलो आधार शान्तिसुरक्षा भएको बताएका छन् ।
प्रहरी प्रधान कार्यालयले ६३ औँ प्रहरी दिवसका अवसरमा आज यहाँ आयोजना गरेको कार्यक्रममा उनले ‘समृद्ध नेपाल, सुखी नेपाली’ को लक्ष्य पूरा गर्न नेपाल प्रहरीले महत्वपूर्ण भूमिका खेल्नुपर्ने बताए ।
“नेपाल प्रहरी आगामी दिनमा थप जिम्मेवार र सक्रिय भएर अगाडि बढ्नुपर्छ”, उनले भने । प्रधानमन्त्री ओलीले सरकार प्रमुखका रुपमा नेपाल प्रहरीलगायत अन्य सुरक्षा निकायलाई उत्तरदायित्व बहन गर्नसक्ने वातावरण निर्माण गर्न आफू कटिबद्ध रहेको बताए ।
उनले राज्यको आन्तरिक सुरक्षाको मेरुदण्डका रुपमा आफूलाई स्थापित गर्दै संयुक्त राष्ट्र सङ्घको अनुरोधमा विदेशस्थित विभिन्न द्वन्द्वग्रस्त मुलुकहरुमा शान्ति स्थापना गर्नका लागि सञ्चालित मिसनहरुमा उत्कृष्ट प्रदर्शन गर्दै नेपाल प्रहरीले अन्तराष्ट्रिय स्तरमा समेत राष्ट्रको पहिचानलाई स्थापित गर्न सशक्त भूमिका निर्वाह गरेको छ । “सीमित स्रोत र साधनका बीच नेपाल प्रहरीले मुलुकको आन्तरिक सुरक्षामा खेलेको भूमिका प्रशंसायोग्य छ”, उनले भने ।
प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले प्रहरीलाई नमूना सङ्गठनका रुपमा विकास गर्न आफू लागिरहेको बताए ।
गृहमन्त्रालयबाट जारी भएको ८२ बुँदे गृहप्रशासन सुधार योजनालाई कार्यान्वयन गर्दै आगामी दिनमा नागरिक केन्द्रित कार्यक्रम सञ्चालन गर्न प्रहरी प्रधान कार्यालय लागिरहेको उनको भनाइ थियो ।
६३ औँ प्रहरी दिवसका अवसरमा आज ‘लाइफटाइम अचिभमेन्ट अवार्ड’ बाट सम्मानित पूर्व प्रहरी अतिरिक्त महानिरीक्षक अमरसिंह शाहले राजनीतिक क्षेत्रबाट प्रहरी सङ्गठनलाई अलग राख्न सके मात्र प्रहरीले सोचेअनुसारको काम गरेर नतिजा दिनसक्ने बताए ।
सो अवसरमा प्रधानमन्त्री ओलीले कामको सिलसिलामा यस वर्ष वीरगति प्राप्त गर्ने प्रहरी कर्मचारीका आश्रित परिवारलाई कदरपत्र प्रदान गरे ।
सो अवसरमा गृहमन्त्री रामबहादुर थापा, महान्यायाधिवक्ता अग्नी खरेल, नेपाली सेनाका प्रधानसेनापति पूर्णचन्द्र थापा, गृहसचिव प्रेमकुमार राई तथा अन्य सुरक्षा निकायका प्रमुख तथा प्रतिनिधि उपस्थित थिए ।