विकास समिति सभापति खड्का भन्छिन्- जायज कुरामा निर्देशन दिन खुट्टा कमाउँदिन
काठमाण्डौ । संघीय संसद अन्तरगत विकास तथा प्रविधि समितिका सभापति कल्याणी खड्काले संसदीय समिति सरकारलाई अप्ठ्यारो पर्न नभइ सहयोग र सचेत गराउन क्रियाशीय हुने बताएकी छन् ।
नेपालीहरुको महान पर्व दशैं, तिहार, छठ लगायतका पर्वको अवसरमा आज आयोजित शुभ कामना आदानप्रदान कार्यक्रममा सभापति खड्काले यस्तो बताएकी हुन् ।
सिंहदरबार स्थित समितिको कार्यालयमा आयोजित कार्यक्रममा उनले भनिन्–संसदीय समितिले सरकारलाई सहयोग गर्छ, केही गलत हुन लाग्यो भने सचेत गराउँछ । जायज कुरामा निर्देशन दिन खुट्टा कमाउँदिन ।
संघीय संसद अन्तरगतका समितिहरुले भर्खर कार्य प्रारम्भ गरेका छन्, आफू सभापति चयन भएको पनि लामो समय भएको छैन, सभापति खड्काले संसदीय मामिलामा कलम चलाउने पत्रकारहरुमाझ भनिन्–के कसरी अगाडि बढ्नु पर्ला, बेलाबेलामा सल्लाह सुझाब दिनु होला ।
केही दिन अघि विकास समितिको बैठकमा सञ्चारमन्त्री गोकुल बास्कोटाको प्रस्तुतिबारे बोल्दै उनले भनिन्– त्यो दिन जे भयो\गरियो त्यो गलत भयो ।
संसदीय समितिका सदस्यहरुको अनेक इन्ट्रेस्ट हुन सक्छन्, तर समितिले कसैको इन्ट्रेस्ट अनुसार काम गर्दैन, गलत काम भएका छन्÷छैनन्, गहन अध्ययन गर्छ, छलफल गर्छ र उचित निर्देशन निडर भएर दिन्छ–सभापति खड्काले भनिन् ।
कार्यक्रममा उपस्थित पत्रकारहरुले विगतमा समितिले गरेका निर्णय र दिएका निर्देशनको अध्ययन गर्न सुझाव दिएका थिए । पूरा नभएका निर्देशनहरुको फलोअप गर्न तथा तत्कालीन विषयवस्तुहरुमा गहन छलफल र अनुसन्धानपछि मात्र निर्देशन दिन सुझाएका थिए ।
आफू लामो समय राजनीतिमा सक्रिय भएको, धेरै खालको अनुभव भएपनि संसदीय समितिको सभापति पहिलो पटक भएको हुँदा जानकार र विज्ञहरुको सल्लाह सुझावको आधारमा अघि बढ्ने विकास समिति सभापति खड्काले बताएकी थिइन् ।