पिपल्स पावर र नेपाल बंगलादेश बैंकबीच ६० करोडको ऋण सम्झौता
काठमाण्डौ । पिपल्स पावर लिमिटेडले निर्माण गरिरहेको इलाम नगरपालिका वार्ड नं. १ साँखेजुङ र वडा नं. ४ माइपोखरी भई बग्ने पुवा खोलामा निर्माण भैरहेको ४.९६ मेगावाट क्षमताको पुवा दोश्रो जलविद्युत आयोजनामा ऋण लगानीको सम्झौता भएको छ ।
नेपाल बंगलादेश बैंक लिमिटेड र आयोजना सञ्चालक कम्पनी पिपल्स पावर लिमिटेड बीच उक्त ऋण सम्झौता भएको हो ।
९० करोड कूल लागत रहने आयोजनामा बैंकले ६० करोड ऋण र प्रबद्र्धकहरुको तर्फबाट ३० करोड स्वपूँजी लगानी भई आयोजना सम्पन्न हुने बताइएको छ ।
ऋण सम्झौता कार्यक्रममा बैंकका तर्फबाट नायव प्रमुख कार्यकारी अधिकृतद्वय सुरेन्द्रभुषण श्रेष्ठ र कम्पनीका तर्फबाट सञ्चालकद्वय टंक अर्याल र सन्तोषराज नेपालको उपस्थितिमा बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्रप्रसाद ढुंगानाले र कम्पनीको तर्फबाट अध्यक्ष विरेन्द्रबहादुर न्यौपानेले हस्ताक्षर गरेका छन् ।
४.९६ मेगावाट क्षमताको आयोजना र नेपाल विद्युत प्राधिकरणबीच विद्युत खरिद बिक्री सम्झौता भई विद्युत उत्पादन अनुमति पत्र प्राप्त गरी आयोजनाले करिब २५ प्रतिशत निर्माण कार्य सम्पन्न गरिसकेको कम्पनीका प्रमुख कार्यकारी अधिकृत भरतबहादुर खत्रीले जानकारी दिए ।