खाद्य संस्थानले दशैं तिहारका लागि २ हजार खसीबोका राजधानी भित्राउने



काठमाडौं । नेपाल खाद्य संस्थानले दशैँ तिहार पर्वको लागि खसीबोका किन्न ३ करोड ४९ लाख ३० हजार रुपैयाँ बजेट बिनियोजन गरेको छ । यो वर्षको दशैँका लागि २ हजारको हाराहारीमा खसी बोका तथा च्याङग्रा राजधानी भित्राइन लागेको संस्थानले जानकारी दिएको छ ।

प्रत्येक वर्ष यी ठूला चाडपर्वको बेला संस्थाले खसीबोका खरिद गरेर राजधानी ल्याउने र बजार मूल्य भन्दा सस्तोमा बिक्री बितरण गर्ने गरेको छ ।

हाल संस्थानले खसीबोकाको मूल्य ५ सय ३० रुपैयाँ रहेको छ भने च्याङग्राको मूल्य ७ सय ७० रुपैयाँ प्रस्ताव गरेको छ । गत वर्ष खसीबोकाको बिक्री मूल्य प्रतिकेजी ४ सय ५४ रुपैयाँ रहेको थियो । यस्तै, संस्थानबाट च्याङ्ग्रा ६ सय ७५ रुपैयाँ प्रतिकेजीमा विक्री वितरण भएको थियो ।

यो वर्ष खसीबोकाको बजार मूल्यको भन्दा १० रुपैयाँँ सस्तो हुने खाद्य संस्थानका प्रवक्ता शंकर सापकोटाले बताए । बजार नियन्त्रणका लागि खाद्य संस्थानले प्रत्येक वर्ष निजी क्षेत्रको तुलनामा सस्तो मूल्यमा खसीबोका बिक्री वितरण गर्ने गरेको उनले बताए ।

खसीबोकामा सरकारले कर बढाए मात्र मूल्य बृद्धि हुने सापकोटाले बताए ।
खसीबोका ल्याउँदा मर्ने सम्भावना हुने र त्यसलाई सुरक्षित रुपमा काठमाडौंंसम्म ल्याइ पुर्याउनु पर्ने हुनाले कहिलेकाहि संस्थाले समेत घाटा बेहोर्नु परेको उनले बताए ।

भैरहवा, दाङ र हेटौंडाबाट खसीबोका ल्याउन लागेको खाद्य संस्थानले जानकारी दिएको छ ।

गत आर्थिक वर्ष खसीबोका खरिदका लागि ३ करोड ६३ लाख ४५ हजार रुपैयाँ प्रस्ताव भएको थियो । संस्थानले २ करोड ९० लाख ८६ हजार रुपैयाँ बराबरको खसीबोका तथा च्याङ्ग्रा ल्याउनका लागि खर्च गरेको थियो ।

गत वर्ष संस्थानले २३ हजार ९ सय ७७ केजी खसीबोका बिक्री गरेको थियो । संस्थानले ती खसीबोका बराबर बिक्रीबाट १ करोड ८ लाख ८३ हजार रुपैयाँ आम्दानी गरेको थियो ।

संस्थानले गत वर्ष च्याङ्ग्रा १ करोड ८९ लाख ८९ हजार रुपैयाँ बराबरको बिक्री गरेको थियो । गत वर्ष संस्थानले १५ सय खसीबोका, १ हजार वटा च्याङ्ग्रा किन्ने लक्ष्य राखेकोमा खसीबोका ९ सय ७३ र च्याङग्रा ८ सय ९० वटा किनेको थियो ।


क्लिकमान्डु