
काठमाडौं । ५ अर्ब रुपैयाँको लागतमा आईएमई ग्रुपले निर्माण गरिरहेको जालपादेवी केबलकार आगामी बैशाख १ गतेदेखि सञ्चालनमा आउने भएको छ । आयोजना सुरु भएको १५ महिनामै केबलकार व्यावसायिक रुपमा सञ्चालन गर्न लागिएको आईएमई ग्रुपका अध्यक्ष चन्द्र ढकालले बताए ।
कैलालीको चिसापानीमा रहेको जालपादेवी केबलकारको शिल्यानास तत्कालीन परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले २०८१ पुस १३ गते गरेकी थिइन् । अहिले उक्त केबलकार निर्माणको कार्यप्रगति ६५ प्रतिशत छ ।
जालपादेवी केबलकारका टेक्निकल साइट इन्चार्ज विजय पौडेलका अनुसार बटम स्टेसनको सिभिल कन्स्ट्रक्सन फेजको ७० प्रतिशत, टावरको ९० प्रतिशत र टप स्टेसनको ६० प्रतिशत सकिएको छ । ‘समग्रमा ६५ प्रतिशत काम भइसकेको छ,’ पौडेलले क्लिकमान्डुसँग भने ।
केबलकार कैलालीको लम्कीचुहाँ नगरपालिका-३ स्थित चिसापानीदेखि मोहन्याल गाउँपालिका-७ स्थित राजकाँडासम्म पुग्नेछ । १४ वटा टावर रहेको केबलकारको बटमस्टेशनदेखि टप स्टेशनसम्मको दूरी ३ किलोमिटर रहेको छ, जुन पार गर्न १० मिनेट लाग्छ । केबलकारमा जम्मा ४० वटा गोन्डोला रहनेछन्, एउटा गोन्डोलाले ८ जना यात्रु बोक्न सक्छन् । केबलकारसँग प्रतिघन्टा १ हजार यात्रु बोक्ने क्षमता छ ।









२०८३ बैशाख १ गतेदेखि केबलकार व्यावसायिकरुपमा सञ्चालनमा ल्याउने आइएमइ समूहका अध्यक्ष चन्द्र प्रसाद ढकालले जानकारी दिए ।
‘आगामी चैतको १५ गते नै निर्माण सम्पन्न गरेर ट्रायल गर्छौं र बैशाख १ गतेदेखि व्यावसायिक रुपमा सञ्चालनमा ल्याउने गरी काम गरिरहेका छौं,’ ढकालले क्लिकमान्डुसँग भने, ‘जालपादेवी केबलकार सुदुरपश्चिमका लागि गेमचेञ्जर आयोजन हो ।’
केही दिन अघि निर्माणाधीन केबलकारको स्थलगत अवलोकन गरेका अर्थमन्त्री रामेश्वर खनाल छोटो समयमै भएको प्रगति देखेर उत्साहित भए ।
‘निजी क्षेत्रले यसरी फटाफट काम गरेको देख्दा मलाई धेरै खुसी लाग्छ, सरकारी आयोजना भएको भए यस्तो प्रगति देख्न पाइँदैनथ्यो,’ खनालले भने, ‘सुदुरपश्चिमको पर्यटन प्रवर्द्धन र आर्थिक विकासमा यो केबलकारले ठूलो योगदान दिन्छ भन्ने विश्वास छ ।’


केबलकारको नाममा बटम स्टेसनमा १२ बिघा र टप स्टेसनमा साढे ३०० रोपनी जग्गा रहेको छ । बटम स्टेसनमा केबलकार, होटल, क्यासिनो, ब्याक्वेट हल र टप स्टेसनमा रिसोर्ट, मन्दिर, स्काई वाल्क, वकिङ ट्रेल, रेस्टुरेन्ट तथा चिल्ड्रेन पार्कसहित अन्य पर्यटकीय तथा मनोरञ्जनात्मक पूर्वाधारहरू हुनेछन् ।
यो केबलकारको सिभिल कन्स्ट्रक्सनको काम स्थानीय इन्जिनियर र कामदारहरुले नै गरेका हुन् । इटालियन कम्पनी ‘लाइटनर’ इलेक्ट्रो-मेकानिकल हेर्छ, जुन युरोपियन स्ट्यान्डर्डको हो । टावरको ९० प्रतिशत काम सकियो । पुस २२ गतेसम्म ‘लाइटनर’ले सम्पूर्ण टावरको मेकानिकल काम सुरु गर्छ। अहिले दिनरात ३०० जना कामदारले काम गरिरहेका छन् ।
भारतीय पर्यटकहरू, सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र लुम्बिनी प्रदेशको एउटा संगमको रूपमा पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले यो आयोजना निर्माण गरिएको ढकाल बताउँछन् ।






यसअघि नै आईएमई ग्रपले देशका विभिन्न स्थानमा ३ वटा (चन्द्रागिरि, मौलाकाली र लुम्बिनी केबलकार) सञ्चालनमा ल्याइसकेको छ भने पाथिभरा र जालपादेवी निर्माणाधीन अवस्थामा छन् । सिक्लेसमा पनि केबलकार निर्माण गर्ने योजना ग्रुपको छ ।

केबलकार बनाउने क्रममा भीरपाखामा ढकाल पैदल हिँडेका छन् । झमक्कै साँझ परेको बेला पनि जालपादेवी केबलकारको टप स्टेशनदेखि बटम स्टेशनसम्म एलाइनमेन्टको कठिन बाटो ढकालले हिँडेर पार गरे ।
‘अलाइनमेन्टमा हिँड्ने भन्ने कुरा अलि गाह्रै कुरा हो । तर, म हरेक केबलकारको अलाइनमेन्टमा हिँडेको छु, किनभने पहिला त आफैंलाई त थाहा हुनु पर्यो नि !,’ ढकालले भने, ‘हामी ग्रासरुटबाटै व्यावसायिक यात्रा सुरु गरेको मान्छे भएकाले कठिन मिहेनत गर्न मन पराउँछु ।’

आफूहरुले ३ वटा सिद्वान्तमा काम गरेको उनको भनाइ छ । पहिलो, हामीले गर्ने कामले आम जनताले फाइदा लिनुपर्यो । दोस्रो, सरकारले प्राथमिकता दिएको क्षेत्र हुनुपर्यो । तेस्रो, व्यावसायिक गतिविधि पनि आफैंमा सस्टेन हुनुपर्यो।
‘हामीले यी ३ वटा सिद्धान्तमा काम गरेको छौं । चाहे आईएमई रेमिट्यान्सको कुरा गर्नुस्, चाहे बैंक वित्तीय संस्थाको कुरा गर्नुस्, चाहे हाइड्रोपावरको,’ ढकालले भने, ‘हामीले बनाउने आयोजनाहरु सरकार र आम जनताका सम्पत्ति हुन् ।’
यसकारण जालपादेवी रोज्यौं
सुदूरपश्चिम प्रदेश र यो प्रदेशमा खास गरेर पर्यटकीय पूर्वाधारहरू अहिलेसम्म बनेको थिएन । यो प्रदेशमा हामी पर्यटकीय पूर्वाधारहरू तयार गर्ने सोचमा थियौं । नेपालगन्ज, टीकापुर, धनगढी र महेन्द्रनगरको बोर्डरबाट करिब २ घण्टाको ड्राइभमा चिसापानी आउन सकिन्छ । बर्दिया राष्ट्रिय निकुञ्ज यसको नजिकै छ। कर्णाली नदी पूरै फैलिएको छ । कर्णाली चिसापानीको पुल हेर्न हजारौं मान्छे आउँछन् । चिसापानीमा चल्ने हिमालको चिसो हावाले पर्यटकहरुलाई थप आकर्षित गर्छ ।
जालपादेवीको मन्दिर भारतीय पर्यटकहरूको एउटा ‘वेडिङ डेस्टिनेसन’ को रूपमा विकास गर्न सकिन्छ । सँगसँगै यस्तो राम्रो प्राकृतिक सौन्दर्यस्थल हुँदाहुँदै पनि हाम्रो पर्यटकीय पूर्वाधारहरू नबनिरहेको ‘एकीकृत पर्यटकीय डेस्टिनेसन’ को रूपमा विकास गर्नुपर्छ भन्ने उद्देश्यले नेपाललाई एक्सप्लोर गरिरहेका छौं ।
कर्णाली पुल, बर्दिया नेसनल पार्क र यहाँको यो दृश्यको लागि यो ठाउँ आफैंमा पनि धेरै राम्रो छ। टप स्टेसनबाट पुरै कर्णाली नदी, बर्दिया नेसनल पार्क र हिमाल एकैसाथ देखिन्छ । यसले सुदूरपश्चिम प्रदेशको लागि मात्र होइन, नेपालकै ओभरअल टुरिजम इन्डस्ट्रीको लागि धेरै ठुलो भूमिका खेल्छ ।
बटम स्टेशनमा १५० र टप स्टेशनमा १०० रुमको पाँचतारे स्तरको रिसोर्ट पनि निर्माण भइरहेको छ । माथिबाट तल कर्णालीको टापुहरू देखिने गरी ‘ग्रेट वाल’ छ। लगभग डेढ किलोमिटर लामो, मान्छेले हातले कुँदेर बनाएको ‘ग्रेट वाल’ छ । ग्रेटवाल हुँदै जालपादेवी मन्दिर पुगिन्छ । रेस्टुरेन्ट र ‘एम्युजमेन्ट’, स्काई साइक्लिङ, जिप लाइन र रोलर कोस्टरहरू रहनेछन् ।










प्रतिक्रिया