विद्युतीय सवारीमा प्रतिस्पर्धा, ४ कम्पनीका नयाँ मोडल सार्वजानिक, कति पर्छ मूल्य ?



काठमाडौं । डिजेल र पेट्रोलबाट मात्र चल्ने गाडीको बिकल्पमा विश्वमा विद्युतीय सवारी आएको छ । डिजेल र पेट्रोलको प्रयोगले हुने प्रदुषणले वातवरणमैत्री विद्युतीय सवारीको विकल्प र नयाँ बहसमा चलेको छ ।

नेपालमा अहिलेसम्म दुईवटा गाडी कम्पनीका बिक्रेताले विद्युतीय गाडी ल्याएर बिक्री गरेका थिए । किया र महिन्द्राले मात्र विद्युतीय गाडी बेच्ने गरेकोमा यो पटक नाडा अटो शोमा थप ३ वटा गाडी कम्पनीका बिक्रेताले विद्युतीय गाडी नेपालमा लन्च गरेका छन् ।

विद्युतीय गाडी भित्राउने कम्पनीमा हुन्डाइ, टाटा र रेनो रहेका छन् । जसमा हुन्डाईको गाडी तत्काल नै बिक्रीको लागि राखिएको छ भने टाटा र रेनोको गाडी लन्च भए पनि बिक्रीको लागि भने केही समय कुर्नुपर्ने सम्बन्धित कम्पनीका अधिकारीले जानकारी दिएका छन् ।

दुईवटा कम्पनीको विद्युतीय गाडीको मात्र अप्सन रहेका उपभोक्तालाई अब भने अप्सन थपिएको छ ।

कोरियन गाडी निर्माता कम्पनी हुन्डाईको लागि नेपालको आधिकारिक बिक्रेता लक्ष्मी हुन्डाईले हुन्डाईको विद्युतीय गाडी पहिलो पटक भित्राएको छ । लक्ष्मी हुन्डाईले कोरियामा आइओनिक गाडी भित्राएको हो । यसको बजार मूल्य ४८ लाख ५० हजार तोकिएको छ । एक पटक फुल चार्ज गरेपछि यो गाडी २५० किलोमिटरसम्म चलाउन सकिन्छ ।

लक्ष्मी ग्रुपका प्रवन्ध निर्देशक अन्जन श्रेष्ठ अबको गाडीको व्यवसाय विद्युतीय गाडीको हुने बताए । ‘विद्युतीय गाडीमा हामीले पहिलो पटक हात हालेका छौ, केही समयमा विद्युतीय गाडीको अर्को मोडल कोना भित्रने छ,’ श्रेष्ठले भने ।

मूल्य महंगो भएपनि नेपालको बाटो सुहाउने मोडल आइओनिक भएको श्रेष्ठको दाबी छ । ‘नेपालको भौगोलिक अवस्थाको कारण विद्युतीय गाडीहरु व्यवसायिक रुपमा सफल भएका छैनन्, यसमा आइओनिक सफल हुने विश्वास हाम्रो छ,’ श्रेष्ठले भने ।

उनले विद्युतीय गाडीको विस्तारको लागि हुन्डाईले विभिन्न स्थानमा चार्जिङ सेन्टर स्थापना गर्ने लक्ष्य लिएको बताए ।

यस्तै महिन्द्राले नेपाली बजारमा विद्युतीय गाडीको नयाँ मोडल थपेको छ । २८ लाख ८० हजार रुपैयाँ मूल्य तोकिएको इभेरिटो बजारमा ल्याएको हो ।

एक पटक पूर्ण रुपमा चार्ज गरेपछि ११० किलोमिटरसम्म चलाउन सकिने गाडी प्रतिघण्टा अधित्तम ८६ किलोमिटरको रफ्तारमा चलाउन सकिन्छ । महिन्द्राले यस अघि नै दुईवटा विद्युतीय गाडीको मोडल नेपाली बजारमा भित्राइरहेको छ ।

नाडा अटो शोमा विद्युतीय गाडी लन्च गरेपनि टाटा रेनो कम्पनीको गाडी भने केही समयपछि बजारमा उपलब्ध हुने छ ।

अटो शोमा राखिएको कियाको विद्युतीय सवारी


पुष्प दुलाल