अर्थमन्त्रीले थपे बिजुलीको नामसारी, ठाउँसारी र मिटर जडानमा पनि १३ प्रतिशत कर




काठमाडौं । बिजुलीको महसुल बाहेकका सबै शुल्कमा १३ प्रतिशत कर लाग्ने भएको छ ।

अर्थमन्त्री डा. युवराज खतिवडाले चालु आर्थिक बर्षको लागि ल्याएको बजेट मार्फत नेपाल विद्युत प्राधिकरणले प्रदान गर्ने सेवा र विक्री गर्ने बस्तुमा मूल्य अभिबृद्धि कर (भ्याट) लाग्ने ब्यवस्था गरेका छन् । यस्तो कर १३ प्रतिशत छ ।

बजेट मार्फत सरकारले इन्टरनेट सेवामा १३ प्रतिशत दुरसंचार सेवा शुल्क लगाएर महंगो पारिदिएको छ । अर्थमन्त्री डा. खतिवडाले सोही दरमा रहेको भ्याटलाई विद्युत सेवाको प्रयोग तथा प्राधिकरणले विक्री गर्ने बस्तुमा पनि लगाएका हुन् ।

बिजुलीको मिटर प्राधिकरणले मात्रै बेच्छ । प्राधिकरणले प्रतिमिटर १६ सय ५० रुपैयाँ लिने गरेको थियो । अब यसमा १३ प्रतिशत भ्याट जोडेर उपभोक्तासँग प्राधिकरणले कर लिने र त्यस्तो कर सरकारलाई बुझाउने छ ।

तपाइले घर वा आफ्नो कुनै संरचना भएको ठाउँमा बिजुली लानु पर्यो र यस्तो ठाँउ प्राधिकरणको लाइन भएको भन्दा टाढा छ भने त्यसको लागि आफैले बिजुलीको पोल राख्नु पर्छ । यस्तो पोलको प्रतिपोल चार्ज प्राधिकरणले २ सय रुपैयाँ लिने गथ्र्याे । यस्तो शुल्कमा पनि अबदेखि १३ प्रतिशत महंगी थपिएको छ । किनभने यस्तो शुल्कमा पनि सरकारले भ्याट लगाएको छ ।

यस्तो बेलामा तपाइ आफैले विजुलीको पोल किन्नु पनि पर्छ । विजुलीको कस्तो पोल राख्ने भन्नेले मूल्य तय गर्छ । यस्तो पोलको मूल्यमा पनि १३ प्रतिशत भ्याट लाग्ने भएकोले पहिलाको भन्दा तपाइको लागि १३ प्रतिशत महंगो पर्ने भएको छ ।

तपाइले विजुलीको मुख्य लाइनभन्दा अलि पर विद्युत तान्नुपर्यो भने तार आफैले किन्नुपर्छ । यस्तो तार अहिले प्राधिकरणले बेच्दैन । तर तपाइले बजारमा किनेको तारमा अब १३ प्रतिशत भ्याट लाग्छ । अर्थात विद्युतको तार किन्दा पनि तपाईलाई अबदेखि १३ प्रतिशत महंगो पर्ने भएको छ ।

तपाइको उद्योग वा कुनै कलकारखाना छ भने तपार्इंले विद्युतको थ्रिफेज लाइन लिनुपर्छ । यस्तो लाइन लिदा प्राधिकरणले तपाईंसँग ५ सय रुपैयाँ सटडाउन चार्ज लिने गरेको छ । यस्तो चार्जमा पनि १३ प्रतिशत भ्याट लाग्ने भएको छ । अर्थात यस्तो चार्ज अब तपाइको लागि १३ प्रतिशत महंगो भएको छ ।

तपाइले घर, कार्यालय, उद्योग, कलकारखाना वा अन्य कुनै ठाउँमा जोडेको बिजुलीको क्षमता घटाउनु पर्यो भने १ सय रुपैयाँ र बढाउनु पर्यो भने २ सय रुपैयाँ प्राधिकरणलाई चार्ज तिर्नुपर्छ । यस्तो चार्जमा पनि भ्याट लगाइएकोले तपाइको लागि अब १३ प्रतिशत महंगो पर्ने भएको छ ।

तपाइले कुनै ठाँउमा विद्युत जडान गर्न वा जडान गरेको स्थानबाट अर्काे स्थानमा ठाँउसारी गर्नुपर्यो भने प्राधिकरणलाई ५ सय रुपैयाँ शुल्क तिर्नुपर्छ । यस्तो शुल्कमा पनि साउन १ गतेदेखि भ्याट लागेको छ । अर्थात यस्तो कार्यको शुल्क अब तपाइको लागि १३ प्रतिशत महंगो परेको छ ।

विद्युतको नाउँसारी शुल्क पनि महंगो भएको छ । एउटाको नाममा रहेको विद्युत अर्काको नाउँमा नामसारी गर्न प्राधिकरणलाई ३ सय रुपैयाँ शुल्क लाग्छ । अबदेखि यस्तो शुल्कमा पनि भ्याट लागेकोले १३ प्रतिशत थप महंगो हुने भएको छ ।

तपाईंको जग्गाको कुनै ठाँउमा बिजुलीको पोल छ र त्यसलाई अन्यत्र कतै सार्नुपर्ने भयो भने तपाइले कस्तो प्रकृतिको पोल हो, कुन ठाउँबाट कहाँ सार्ने हो भन्ने जस्ता कुराले प्राधिकरणलाई तिर्ने शुल्क निर्धाराण गर्छ । अबदेखि यस्तो शुल्कमा पनि भ्याट लागेकोले यो कार्य पनि थप १३ प्रतिशत महंगो भएको छ ।


क्लिकमान्डु