भोलिदेखि सेयर लगानीकर्ताको घाटा बढ्ने



काठमाडौं । लगातार सेयर बजार घटेर चिन्तामा रहेका सेयर लगानीकर्ताको घाटा भोलिदेखि थप बढ्ने छ ।

सरकारले गत जेठ १५ मा ल्याएको बजेटमा साधारण लगानीकर्ताले तिनुपर्ने पुँजीगत लाभकर ५ प्रतिशतबाट बढाएर साढे ७ प्रतिशत बनाएको थियो ।

संस्थागत लगानीकर्ताले भने १० प्रतिशत लाभकर तिर्नुपर्छ ।

सरकारले बजेट ल्याउदा सार्वजनिक गरेको भन्सार र अन्तशुल्कका दरहरु अर्कोदिनदेखि लागु हुने भएपनि करका अरुदरहरु साउन १ देखि लागु हुन्छ ।
लाभकरको व्यवस्था नयाँ आर्थिक वर्ष २०७५/७६ को पहिलो दिन अर्थात साउन १ देखि लागु हुने छ ।

लगानीकर्ताले अब सेयर बेच्दा फाइदा हुँदा विगतको भन्दा साढे २ प्रतिशत कर बढी तिर्नुपर्छ । घाटामा रहेका लगानीकर्तालाई भने करले थप घाटा बढाउने देखिन्छ ।

साढे ७ प्रतिशत लाभकर बाहेक सेयर लगानीकर्तालाई अर्को करको भार समेत थपेको छ ।
सिडिएस एण्ड क्लियरिङ लिमिटेडले क्लोज आउटमा २५ प्रतिशत लाभकर व्यवस्था गरेको छ ।

सिडिएससीले जारी गरेको सूचनामामा धितोपत्र राफसाफ तथा फछ्र्यौट नियमावलि २०६९ संशोधित को विनियम २१ को उपविनियम २ बमोजिम धितोपत्र राफसाफ तथा फछ्र्योट गर्दा धितोपत्र नपुग भइ लाग्ने क्लोज आउट भएको रकममा आयकर ऐन २०५८ बमोजिम २५ प्रतिशत आकस्मिक लाभकर लाग्ने उल्लेख गरेको छ ।

महालेखापरीक्षक कार्यालयको निर्देशन बमोजिम यस्तो व्यवस्था गरिएको सिडिएसईले जनाएको छ ।

क्लोज आउट भएमा सेयरको खरिद गर्नेलाई २० प्रतिशत जरिवान स्वरुप तिर्नुपर्छ । त्यही रकममा सरकारले आकस्मिक लाभकर लगाउने व्यवस्था गरेको हो ।


क्लिकमान्डु