मौद्रिक नीतिको सुविधाले पनि सेयर बजारमा ठूलो सुधार देखिएन, लगानीकर्ता भन्छन् : ब्याजदर घट्नुपर्यो



काठमाडौं । मौद्रिक नीतिसँगै अन्य सुधारका कार्यहरु गरे मात्र सेयर बजार बढ्ने लगानीकर्ताको धारणा रहेको छ । सेयर बजारको क्षेत्रमा आवश्यक सुुधार गरी तत्काल अनलाईन सेवा सुचारु गर्नु पर्ने उनीहरुको भनाई छ ।

नेपाल स्टक एक्सचेन्ज नेप्से परिसूचक केही समय यता ओरालो लाग्दै आएपनि आज भने ८.११ अंकले बढेको छ । साताको पहिलो दिन आइतबार यसरी नेप्सेमा झिनो अंकले सुधार आएपनि लगानीकर्ताहरु त्यति सन्तुष्ट छैनन् ।

खस्कदो क्रममा रहेको सेयर बजार अब कसरी सुधार गर्न सकिएला त ? के भन्छन् लगानीकर्ता ? आज हामीले केही लगानीकर्ताको प्रतिक्रिया लिएका छौं ः

कालिका सेक्यूरिटिजमा रहेका लगानीकर्ता मदनराज पन्तले भने–‘साउनबाट अनलाईन सेवा शुरु हुन्छ र बजारमा केही नयाँपन पाईन्छ, बजार उकालो लाग्छ ।’ साउनबाट बजार बढ्नेमा पन्त आशाबादी छन् ।

त्यस्तै, एशियन सेक्यूरिटिजमा आवद्ध लगानीकर्ता माधव खनाल भन्छन्–‘बजार प्रजातान्त्रिक ढङ्गबाट चल्नु आवश्यक छ, यसको लागि सरकारले नै कदम चालेमा बजार बढ्ने निश्चित छ ।’ लगानीकर्तालाई निराश बनाएका अर्थमन्त्रीले अब सकारात्मक कदम नै चाल्नु पर्नेमा उनले जोड दिए ।

ब्वाँसो र बाख्राको किंवदन्ती जोड्दै उनले भने–ब्वाँसोलाई ढोका बाहिर राखेर खोरबाट बाहिर निकाल्न  लाग्दा बाख्रा बाहिर निस्कन सक्दैन, त्यस्तैगरी अहिले लगानीकर्ता थुनिएको  प्रशङ्ग उल्लेख गर्दै सरकारी पहलले मात्र बजारमा सुधार ल्याउने मत व्यक्त गरे ।

सोही सेक्यूरिटिजमा आवद्ध सुरेन्द्र गेलालले भने– बैंकको ब्याजदरले समेत सेयर बजार घटाउन भूमिका खेलिरहेको छ । उनका अनुसार ब्याज सहज हुँदा बजार बढ्न मद्दत गर्छ ।

यस्तै सोही सेक्यूरिटिजमा भेटिएका अर्का लगानीकर्ता राजकुमार खड्का भन्छन् –‘हामी कहाँ सेयर भोलुम ज्यादा भएरपनि बजार माथि जान सकेन् ।’

पुतली सडकमा रहेको श्वेता सेक्यूरेटिजमा भेटिएका लगानीकर्ता हरिगोपाल श्रेष्ठ भन्छन्–‘बजारमा ठूला लगानीकर्ताको प्रवेश आवश्यक छ, जबसम्म ठूला लगानीकर्ता बजारमा प्रवेश गर्दैनन्, तबसम्म बजार बढ्ने आश छैन ।’ श्रेष्ठले अगाडि भने–बजार बढ्न लगानीकर्ताको विश्वासले ठूलो भूमिका खेल्छ, हाल बजारप्रति लगानीकर्ताको विश्वास देखिदैन ।

यस्तै, श्वेता मै रहेका अर्का लगानीकर्ता मुरारी कोईराला भन्छन् –‘हामीलाई अक्सन मार्केटको आवश्यकक्ता छ ।’ लगानीकर्ताले गर्ने लगानी अनुसारको बजारमा विशिष्टीकरण आवश्यक छ । यस्तै, अनलाईन सेवा प्रणाली यथाशिघ्र शुरु गरेमा बजारको अवस्थामा समेत सकारात्मक परिवर्तन आउने उनको बुझाई रहेको छ । केही बर्षदेखि बजार दवाबमा रहेको कुरा जोड्दै पूँजी वृद्धीले शेयरको चाप बढेको उनी बताउँछन् । एनआरएनएको सहकार्य अपरिहार्य रहेको भन्दै उनले त्यहाँको पैसा सदुपयोग गर्न सकेमा बजार उकालो लाग्ने बताए ।

अर्का लगानीकर्ता ध्रुव तामाङ् भन्छन् –‘हाम्रो सेयर बजार कालिमाटीमा तरकारी थुपारेझैं थुप्रो लगाएर बसेको छ, त्यसकारण बजारमा तत्काल किन्ने मान्छेको आवश्यकता छ ।’

यस्तै, निर्मल पाख्रिनले भने–‘मौद्रिक नीति आएर मात्र हुन्न ।’ कस्तो नीति आएको छ र कति कार्यान्वयन हुन्छ भन्ने कुरा नै मुख्य रहने उनले तर्क गरे । बढ्दा सबै जसो कम्पनी बढ्ने र घट्दा सबै जसो कम्पनी घट्ने कुरामा उनले चिन्ता र चासो व्यक्त गरे । राम्रा कम्पनी बढ्दा अन्य कम्पनी समेत बढ्ने गरेको अनुभव सुनाउँदै उनले यो एक किसिमको रहस्य रहेको जानकारी दिए ।

यसरी नै पाख्रिनले पूँजी बढेसंगै किन्ने बेच्नेको सङ्ख्यामा यथावत रहेकाले बजार उकालो नलागेको जनाए ।


क्लिकमान्डु