सेयर लगानीकर्ता भन्छन्- मार्जिन कलमा दिएको सुविधाले उत्साह थप्यो



काठमाडौं । मौद्रिक नीति सार्वजनिक भएसँगै सरकारले गरेको मार्जिन कल घटाउने निर्णयले लगानीकर्तामा उत्साह ल्याएको छ ।

मार्जिन कलको सहुलियतले थोरै लगानी गर्ने लगानीकर्तालाई समेत सम्बोधन गरेको भन्दै लगानीकर्ता सकारात्मक देखिएका छन् ।

कालिका सेक्यूरिटीजमा रहेका लगानीकर्ता रामकुमार लोहनीले भने– ‘मार्जिन कल घटेपछि लगानीकर्ता तत्काल पेनिक हुने अवस्थाबाट बचेका छन् ।’ यसरी लगानीकर्ता एक किसिमको त्रासबाट नै मुक्त भएका छन् । बैंकले मार्जिन कल गर्नु भनेको धेरै लगानीकर्ताको लागि डरको विषय नै हो ।

लोहनीले मार्जिन लेण्डिङको समेत सन्र्दभ जोडे । मार्जिन लेण्डिङ पैसासँग मात्र सम्बन्धित छ भने मार्जिन कल फोनसंग । तर, बैंकबाट फोन आउँदा सम्बन्ध पैसासँग गाँसिन्छ । यसरी सरकारले लगानीसँग सम्बन्धित नीति ल्याउँदा बजारमा सकारात्मकता भित्रिने उनको विश्वास छ ।

क्रिष्टल कञ्चनजंगामा भेटिएका जुगन अधिकारी बैंकको व्याज घट्ने भएकोमा खुशी छन् । उनले भने–‘अब बैंकको व्याज घट्छ, यो लगानीकर्ताको लागि खुशीको क्षण हो ।’ ऋण लिएर सेयर बजारमा प्रवेश गर्ने लगानीकर्ता हामी कहाँ प्रशस्तै छन् । त्यस्ता लगानीकर्ताको लागि यो क्षण निकै राम्रो मान्न सकिन्छ ।

आफ्नो विगत कोट्याउँदै उनले भने–आईपीओबाट सेयर बजारमा मेरो प्रवेश भएको हो । १६ बर्ष पहिले पढाई सक्ने बित्तिकै उनले सेयर बजारमा लगानी गर्न थालेको बताए ।

हाल लगानीकर्तादेखि धेरै जना छलफलको चरणमा रहेको मनसाय समेत व्यक्त गरे । आजको भोलि नै नभएपनि केही दिनमा बजार अवश्य बढ्ने उनले विश्वास व्यक्त गरे । साथै, मार्जिन कलमा दिएको अवसर सबैले सकारात्मक लिएको र लिनु पर्ने उनको प्रतिक्रिया छ ।

क्रिष्टल कञ्चनजंगा मै भेटिएका बासु श्रेष्ठको भने भिन्न मत रहेको छ । ‘यो मार्जिन कल घटाउनु पुरानो लगानीकर्तालाई राहत नै हो, तर नयाँलाई भने यसले खासै फरक पार्दैन’–श्रेष्ठले भने । साथै, समग्रमा मौद्रिक नीति लगानीकर्ताको हितमै रहेको बताए ।

लगानीकर्ता संकल्प श्रेष्ठले दिएको जानकारी अनुसार–‘मार्जिन कल घट्नु राम्रो कुरा हो, हामीलाई बजार बढ्ने आश थियो, तर भित्री कुरा के हो त्यो बुझन् निकै गाह्रो पर्यो ।’

अनलाईन सक्यूरिटीजमा रहेका लगानीकर्ता शिव गजुरेल भन्छन् – ‘अब त बजार पक्कै बढ्छ भनेको, तर नतिजा गलत आयो ।’ मर्जिन कल सम्बन्धी नीति आफैंमा गलत नरहेको, तर तत्काल बजार नबढेकोमा भने उनले खेद समेत व्यक्त गरे ।

हामीले सङ्ख्यात्मक रुपमा हेर्दा साना लगानी भएका लगानीकर्ता ठूला लगानी भएका भन्दा धेरै छन् । यस्तो अवस्थामा मार्जिन कलको सन्दर्भलाई राम्रो रुपमा लिनु पर्ने गजुरेलको धारणा रहेको छ ।

बजार आफ्नो हिसाबले चल्छ, नीति सबैले बुझेपछि तथा सबैतिर राम्रो भएपछि मात्र यसको प्रयोग आउँछ, यसो हुन सकेन भने नीति एउटा फण्डा मात्र मान्न सकिन्छ भन्ने केही लगानीकर्ताको मत रहेको छ ।


क्लिकमान्डु